मोरङ । मोरङको रतुवामाई नगरपालिका–३ स्थित श्री विपि प्राथमिक विद्यालयका ४० जना विद्यार्थीलाई बेर्शेबा सेवा समितिको सहयोगमा झोला तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।
समितिको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूलाई झोला, कलम, पेन्सिल, रङ्गीन पेन्सिल, ज्यामिति बक्स, कापी, ड्रइङ बुकलगायतका सामग्री प्रदान गरिएको थियो। साथै विद्यार्थीको खेलकुद विकासलाई लक्षित गर्दै ब्याडमिन्टन र फुटबल सामग्रीसमेत उपलब्ध गराइएको थियो।



कार्यक्रममा प्रमुख अतिथि रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीप्रसाद ताजपुरियाले शैक्षिक क्षेत्रमा गरिएको सहयोगले विद्यार्थीको अध्ययनमा थप हौसला पुग्ने बताउनुभयो। उहाँले बालबालिकाको आवश्यकता पहिचान गरी सहयोग गर्ने संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सकारात्मक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक दिपक कुमार राजवंशीले प्राप्त शैक्षिक सामग्रीले विद्यार्थीलाई नियमित अध्ययन तथा सिर्जनात्मक गतिविधिमा सहयोग पुग्ने बताउनुभयो। उहाँले विद्यालयको आवश्यकतालाई ध्यान दिँदै सहयोग गरेकोमा बेर्शेबा सेवा समितिप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रतुवामाई–३ का इन्चार्ज रमेश थापा, महादेवा प्रहरी चौकीका इन्चार्ज भीमबहादुर श्रेष्ठ, बेर्शेबा सेवा समितिका अध्यक्ष भागलाल ताजपुरिया, प्रमुख कार्यकारी अधिकृत अनिष अब्राहम, समिति सदस्य, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
बेर्शेबा सेवा समितिले बालबालिकाको शैक्षिक विकास र हकहितमा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको जनाएको छ।









