काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर सभाको दोस्रो बैठकबाट बजेट प्रस्तुत गर्दै उपप्रमुख गीता बञ्जाराले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले प्रस्तुत गरेको कुल बजेटमध्ये पूँजीगततर्फ १ अर्ब ४ करोड ६८ लाख ४२ हजार रुपैयाँ अर्थात् ५३.१५ प्रतिशत र चालुतर्फ ९२ करोड २७ लाख ३३ हजार रुपैयाँ अर्थात् ४६.८५ प्रतिशत विनियोजन गरिएको छ ।



यसअघि नगरप्रमुख रामशरण भण्डारीले असार ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तावित बजेटको स्रोततर्फ आन्तरिक आयबाट ४० करोड ९७ लाख, राजस्व बाँडफाँडबाट २१ करोड ८३ लाख २७ हजार, संघीय वित्तीय हस्तान्तरणबाट ५२ करोड ६९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट १४ करोड ४७ लाख, सशर्त अनुदानबाट ३५ करोड २४ लाख र विशेष अनुदानबाट २ करोड रुपैयाँ समेटिएको छ ।
नगर सभामा विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सुशासन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह र समृद्ध पनौती निर्माणको लक्ष्यसहित नगर सभा २०८३ सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।








