काभ्रे। काभ्रेको रोशी गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष मिमबहादुर वाईबाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्ताव गरेका छन् ।
प्रस्तावित बजेटमा आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड लगायतका स्रोत समेटिएका छन् । गाउँसभामा अध्यक्ष लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका तथा विपन्न परिचयपत्र प्राप्त नागरिकको स्वास्थ्य बिमा शुल्क गाउँपालिकाले व्यहोर्ने नीति प्रस्ताव गरिएको छ ।



यस्तै, जेष्ठ नागरिकको स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म दिवा खाजा विस्तार गर्ने नीति समेत ल्याइएको छ, जसका लागि ६९ लाख रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।
स्वास्थ्य संस्थामा कर्मचारी अभाव हुन नदिन १ करोड ५० लाख रुपैयाँ, विपद् प्रभावित नागरिकको आवास निर्माण तथा पुनर्निर्माणका लागि ६० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । आवास निर्माणमा संघ, प्रदेश र गाउँपालिकाको साझेदारी रहने नीति लिइएको छ ।
गाउँसभामा पर्यटन संरक्षण समिति गठनसहित १३४ वटा विभिन्न नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।








