अर्जुन दाहाल, कविता – विद्रोही

विद्रोही

अस्त व्यस्त आँखा,

चञ्चल मन,

निराशाले भरिएको अनुहार,

फिजारिएका केश,

सुकेको आवाज,

जाज्वल्यमान मन,

मानौँ उ आफैंमा आफ्नो विरोध हो।

उसले कलम समात्यो

अनि केर्न बस्यो केही शब्द,

आफ्नो अतीतलाई पानामा उतार्न।

जब सूर्य थियो, गर्मी थियो,

जब चन्द्रमा थियो, शीतलता थियो,

जब वायु थियो, अनि चिस्यान थियो,

जब नदी थियो, कलकल आवाज थियो,

जब रूख बिरुवा थिए, पातले बतास थियो

जब संगीत थियो, मधुर धुन थियो,

जब मन थियो अनि मस्तिष्क पनि,

जब धड्कन थियो र साथ दिने मुटु थियो,

जब मुस्कान थियो, ओठमा आवाज थियो

जब ऊ सँग उ थी।

अपुरा बाचा,

अधुरा सपना,

अपूरो अन्तर्मन,

अँध्यारो भविष्य,

उजाड लाग्दो समाज,

रित्तो गोजी,

फुलेका श्वास,

भारी भएका आश,

अनि घच्घच्याउने भावना।

 

उसले केही पनि लेखेन

आफ्नो पानामा

आफ्नो कलमलाई गोजीमा राखेर

चुँडिएको विश्वासको बन्धन बाट

आफूलाई सम्हाल्दै

उसले बाटो रोज्यो एकान्तको

उनी बिनाको।

उ विद्रोही हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय