जुम्लाको सिँजामा नेपाल टेलिकमको फोर-जी सेवा सञ्चालन

काठमाडौँ — नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिँजामा नेपाल टेलिकमले फोर-जी सेवा सञ्चालनमा ल्याएको छ। कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा नयाँ टावर स्थापना गरी बिहीबारदेखि सेवा सुरु गरिएको हो।

नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर-जी सेवा उपलब्ध हुनेछ। गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सेवा पुग्नेछ।

राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण टावर सञ्चालनमा ढिलाइ भएको थियो। हाल सोलार ब्याट्री प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।

दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवा विस्तारलाई प्राथमिकता दिँदै नेपाल टेलिकमले बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा समेत यसै हप्ताभित्र फोर-जी सेवा सञ्चालन गर्ने तयारी गरेको छ। सगरमाथा आधार शिविर क्षेत्रमा सेवा विस्तारका लागि समेत अध्ययन भइरहेको छ।

यसअघि डोल्पाको ल्हान तथा दुनै र ताप्लेजुङको ओलाङचुङगोलालगायत उच्च हिमाली क्षेत्रमा फोर-जी सेवा विस्तार भइसकेको छ।

नेपाल टेलिकमले देशभर दूरसञ्चार सेवा विस्तार र गुणस्तर सुधारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाएको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तारका लागि चालु आर्थिक वर्षमा रु. ६ अर्बभन्दा बढी लगानी गर्ने तयारीसमेत गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय