दमक । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले कानुनी उमेर पुगेका र आपसी सहमतिमा रहेका जोकोही व्यक्तिलाई होटलमा कोठा लिएर बस्न पाउने अधिकार रहेको बताउनुभएको छ ।
सोमबार दमक उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै हालै कास्कीबाट सरुवा भई दमक आएका डिएसपी बस्नेतले आधुनिक समाजमा श्रीमान–श्रीमती मात्रै होटलमा बस्नुपर्छ भन्ने सोच अब उपयुक्त नभएको उल्लेख गर्नुभयो ।



उहाँले कानुनी प्रावधान पूरा गरेका र आपसी समझदारी भएका व्यक्तिहरूले होटलमा बस्न पाउने अधिकार संविधान र कानुनले सुनिश्चित गरेको बताउनुभयो ।
डिएसपी बस्नेतले होटल व्यवसायीलाई होटलमा अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्न तथा आगन्तुकहरूको यथार्थ विवरण ‘इन्ट्री बुक’मा राख्न आग्रह गर्नुभयो । साथै, होटललाई अवैध गतिविधिको केन्द्र बनाउन खोजिए कडा कारबाही गरिने चेतावनी समेत दिनुभयो ।
“कुनै पनि होटल व्यवसायीले केटी राखेर ग्राहक बोलाउने वा अनैतिक गतिविधि सञ्चालन गर्ने कार्य गरे त्यसमा कुनै माफी हुँदैन,” उहाँले भन्नुभयो, “तर दुवै जनाको सहमतिमा होटलमा बस्ने अधिकार सबैलाई छ ।”
उहाँले “माई बडी, माई राइट, माई लाइफ” भन्ने अवधारणालाई उल्लेख गर्दै व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिनुपर्ने बताउनुभयो । यद्यपि होटलमा हुने अवैध धन्दा तथा आपराधिक गतिविधिमाथि प्रहरीले उच्च निगरानी राखिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा व्यवसायीहरूले राखेका गुनासो सुन्दै डिएसपी बस्नेतले सार्वजनिक स्थलमा हुने शंकास्पद गतिविधि तथा घटनाबारे गोप्य रूपमा सूचना दिन सर्वसाधारणसँग आग्रह गर्नुभयो । प्राप्त सूचनाको स्रोत र सूचना दिने व्यक्तिको परिचय पूर्ण रूपमा गोप्य राखिने पनि उहाँले स्पष्ट पार्नुभयो ।









