काभ्रे — भुम्लु गाउँपालिका, मालपोत कार्यालय र नापी कार्यालयबीच स्थानीयस्तरमै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले संयुक्त बैठक सम्पन्न भएको छ।
बैठक गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्री, नापी कार्यालयका प्रतिनिधि धुर्व प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो।



गाउँपालिकामा आयोजित उक्त बैठकले अबदेखि मालपोत तथा नापीसम्बन्धी सेवा भुम्लु गाउँपालिकाबाटै सञ्चालन तथा व्यवस्थापन गर्ने विषयमा महत्वपूर्ण निर्णय गरेको छ। सो निर्णय कार्यान्वयनका लागि आवश्यक भौतिक पूर्वाधार, कार्यालय व्यवस्थापन तथा जनशक्ति सुनिश्चित गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार यस व्यवस्थाले नागरिकलाई सेवा लिनका लागि जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हट्नेछ। साथै समय र लागत दुवैमा बचत हुनुका साथै प्रशासनिक झन्झट समेत न्यूनीकरण हुने उहाँले बताउनुभयो।
यस पहलले स्थानीय तहबाटै सहज, छिटो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्दै सुशासनलाई मजबुत बनाउने तथा नागरिकको विश्वास अझ बढाउने विश्वास लिइएको छ।









