रोटरी क्लब अफ दमकद्वारा पृथ्बी माविलाई ३० थान डेक्स बेञ्च सहयोग

दमक । झापाको दमकमा सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रोटरी क्लब अफ दमकले पृथ्बी माध्यमिक विद्यालयलाई फर्निचर सहयोग गरेको छ । क्लबले सोमबार दमक–७ स्थित राधाकृष्ण मन्दिर परिसरमा रहेको विद्यालयलाई ३० थान डेक्स बेञ्च हस्तान्तरण गरेको हो ।

रोटरी डिष्ट्रिक्ट ३२९२ नेपालको सहयोगमा सञ्चालन गरिएको “ह्याप्पी स्कुल” कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको सहज र व्यवस्थित पठनपाठनका लागि उक्त सहयोग प्रदान गरिएको रोटरी क्लब अफ दमकका सहसचिव देबेन्द्र बरालले जानकारी दिनुभयो ।

रोटरी क्लब अफ दमकका अध्यक्ष केशवकुमार अग्रवालको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर प्रमुख थापाले दमकको विकास र परिवर्तनका लागि नगरपालिका स्थानीय संघ–संस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष सन्दिप चापागाईले विद्यालय र बालबालिकाको क्षमता विकासमा टेवा पुर्‍याउने उद्देश्यले “ह्याप्पी स्कुल” कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पनि सोही विद्यालयमा शुद्ध खानेपानी धारा र शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

क्लब अध्यक्ष अग्रवालले गुणस्तरीय शिक्षामार्फत असल नागरिक उत्पादन हुने उल्लेख गर्दै विद्यार्थीहरूका लागि सुरक्षित, सहज र व्यवस्थित अध्ययन वातावरण निर्माण गर्न सहयोग गरिएको बताउनुभयो ।

कार्यक्रममा दमक–७ का वडाध्यक्ष भीम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष लालसुन्दर राई, दमक रोट्रयाक्ट क्लबका अध्यक्ष दीवाकर पञ्चकोटी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, विद्यालयका प्रधानाध्यापक विष्णुकुमार राई, सहायक प्रधानाध्यापक अमृत श्रेष्ठ, डा. लेखनाथ न्यौपाने, रोटरी क्लब अफ दमकका पूर्व अध्यक्षहरू नबीन श्रेष्ठ र बिक्रम शाह लगायत रोटरियन, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ दमकका सहसचिव देबेन्द्र बरालले गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय