डोजर आतंकको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

दमक । भूमिहीन सुकुम्बासीमाथि डोजर चलाएर उठीबास गराइएको भन्दै श्रम संस्कृति पार्टीले झापाको दमकमा विरोध प्रदर्शन गरेको छ।

पार्टीले शुक्रबार दमकमा र्‍याली निकाल्दै “डोजर आतंक बन्द गर”, “सुकुम्बासीमाथिको दमन बन्द गर” लगायतका नाराबाजी गर्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको विरोध जनाएको हो।

श्रम संस्कृति पार्टी दमक नगर समितिको आयोजनामा दमक–१ स्थित फाल्गुनन्द चोकबाट सुरु भएको विरोध र्‍याली नगरपालिका रोड, हनुमान मन्दिर, थाना रोड हुँदै डाँफे–मुनाल चोक पार गरेर आकाशे पुलमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव बबिन शेर्माले सरकारले देशभरका लाखौं सुकुम्बासीलाई विस्थापनको जोखिममा पारेको आरोप लगाए। उनले सुकुम्बासीको समस्यालाई बेवास्ता गरिए विगतका आन्दोलनजस्तै थप सशक्त प्रतिवाद हुने चेतावनी दिए।

त्यस्तै, पार्टीका केन्द्रीय सदस्य मेघराज दुलालले वर्तमान सरकारले समाधानभन्दा दमनको नीति अपनाएको आरोप लगाउँदै सुकुम्बासी समुदाय एकजुट भएर अधिकारका लागि उभिनुपर्ने बताए।

पार्टीका नगर सचिव सन्त किरातीका अनुसार कार्यक्रममा वक्ताहरूले भूमिहीन तथा सुकुम्बासीको दीर्घकालीन व्यवस्थापन नगरी डोजर प्रयोग गरेर घर भत्काउनु अमानवीय कार्य भएको बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगर समिति अध्यक्ष पूजा लक्ष्मी गुरुङले “जमिन सरकारी भए पनि त्यहाँ बसोबास गर्ने नागरिक पनि राज्यकै जिम्मेवारीभित्र पर्ने” उल्लेख गर्दै सरकारले संरक्षण र पुनर्स्थापनाको दायित्व पूरा गर्नुपर्ने बताइन्।

प्रदर्शनमा सहभागीहरूले सुकुम्बासीको पहिचान, वैकल्पिक व्यवस्थापन र सम्मानजनक पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय