कमलमा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु, ५ हजारभन्दा बढी आमा–बालबालिका लक्षित

झापा — बालबालिकाको पोषण अवस्था पहिचान तथा सुधार गर्ने उद्देश्यले कमल गाउँपालिकामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु गरिएको छ। नेपाल सरकारको देशव्यापी कार्यक्रमअन्तर्गत सञ्चालन भएको यो अभियान गाउँपालिकाका सातै वडामा एकैसाथ अघि बढाइएको हो।

अभियान कार्यान्वयनअघि स्वास्थ्यकर्मीहरूलाई दुई दिने र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई एक दिने अभिमुखीकरण तालिम प्रदान गरी दक्ष बनाइएको गाउँपालिकाले जनाएको छ।

कमल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भइरहेको अभियानमा ‘सुनौलो हजार दिन’ अवधिका आमासहित साना बालबालिकाको पोषण अवस्था पहिचान गरिनेछ।

अभियानअन्तर्गत बालबालिकाको उचाइ, तौल तथा पाखुराको मध्य भागको परिधि (MUAC) मापन गरी पोषण स्थिति निर्धारण गरिने प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले जानकारी दिनुभयो।

उहाँका अनुसार अभियानमार्फत ६ महिनादेखि ५९ महिनासम्मका करिब ४ हजार बालबालिका र करिब १ हजार ४ सय आमाको पोषण परीक्षण गर्ने लक्ष्य राखिएको छ। वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने अभियानले कुपोषणको समयमै पहिचान गरी उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अभियानका क्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत घरदैलोमै पुगेर बालबालिकाको पाखुराको परिधि मापन गरिनेछ। साथै, कुपोषित बालबालिकाका अभिभावकलाई बहिरङ्ग सेवामार्फत तयारी उपचारात्मक खानाको प्रयोगबारे परामर्श दिइनेछ।

सरकारी योजना अनुसार अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूबाट सञ्चालन भइरहेको छ।

यसैबीच, अभियानको पहिलो दिन कमल गाउँपालिका–२ स्थित मिलन टोलमा स्क्रिनिङ शिविर सञ्चालन गरी ५ वर्षमुनिका ३० जना बालबालिकाको पोषण परीक्षण गरिएको छ।

शिविरमा सीनियर अनमी निरीक्षक गीता मगराती र अनमी झुमादेवी ढुङ्गानाको सक्रिय सहभागिता रहेको थियो भने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका उषा दाहालले समुदायस्तरमा सहजीकरण गर्नुभएको थियो।

अन्य स्वास्थ्य संस्थाहरूले पनि आगामी दिनदेखि थप व्यापक रूपमा पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरेका छन्।

कमल गाउँपालिका–२ का वडा अध्यक्ष अशोक सुब्बाले बालबालिकाको पोषण सुधारलाई दीर्घकालीन विकाससँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “कुपोषण समयमै नियन्त्रण गर्न सकेनौँ भने यसले भावी पुस्ताको शारीरिक र मानसिक विकासमा गम्भीर असर पार्छ। त्यसैले यो अभियान केवल कार्यक्रम नभई जनस्वास्थ्यको व्यापक अभियान हो। घरघरमै सेवा पुर्‍याएर एक जना पनि बालबालिका छुट्न नदिने हाम्रो लक्ष्य हो।”

अध्यक्ष सुब्बाले अभिभावकलाई अभियानमा सक्रिय सहभागिता जनाउन र बालबालिकाको नियमित पोषण परीक्षणमा ध्यान दिन आग्रह गर्नुभएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय