कमल, झापा । कमल गाउँपालिकामा सञ्चालन गरिएको जेई (जापानिज इन्सेफलाइटिस) विरुद्धको खोप अभियान–२०८३ मा लक्षित जनसंख्याको ६४.४ प्रतिशतले खोप लगाएका छन्।
आश्विन ५ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा गाउँपालिकाका सातवटै वडाका ३० वर्षमाथिका नागरिकलाई लक्षित गरिएको थियो। कुल २६ हजार ४६८ लक्षित नागरिकमध्ये १७ हजार ५२ जनाले जेई विरुद्धको खोप लगाएको गाउँपालिकाको अन्तिम तथ्यांकले देखाएको छ।



खोप लगाउनेमध्ये ९ हजार ९४० जना महिला र ७ हजार ११२ जना पुरुष रहेका छन्। उमेर समूहअनुसार ३० देखि ६० वर्ष उमेर समूहका १२ हजार ५४८ जना र ६० वर्षमाथिका ४ हजार ५०४ जना नागरिकले खोप लगाएका छन्।
वडा नं. ६ मा सबैभन्दा बढी प्रगति
वडागत तथ्यांकअनुसार सबैभन्दा बढी खोप प्रगति कमल–६ मा ७८.९ प्रतिशत रहेको छ। त्यसपछि वडा नं. ३ मा ७२.७ प्रतिशत, वडा नं. ७ मा ६९.२ प्रतिशत, वडा नं. ५ मा ६५.७ प्रतिशत, वडा नं. २ मा ६१.३ प्रतिशत र वडा नं. १ मा ५८.६ प्रतिशत प्रगति भएको छ।
त्यस्तै, वडा नं. ४ मा ४४.८ प्रतिशत नागरिकले जेई विरुद्धको खोप लगाएका छन्।
अभियानका क्रममा लक्षित उमेर समूहका नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन गाउँपालिकाका विभिन्न खोप केन्द्रमार्फत सेवा सञ्चालन गरिएको थियो। अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक तथा स्थानीय सरोकारवालाको सहभागितामा प्रचारप्रसार र जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले अभियानमा सहभागी भई खोप लगाउने नागरिकसँगै स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिएको छ।
अन्तिम तथ्यांकअनुसार कमल गाउँपालिकामा २६ हजार ४६८ लक्षित नागरिकमध्ये १७ हजार ५२ जनाले जेई विरुद्धको खोप लगाएका छन्।











