झापा — कमल गाउँपालिका–२ मा सञ्चालन गरिएको १५ दिने बारिस्ता निर्माण तालिम सम्पन्न भएको छ। वडा नम्बर २ को आर्थिक सहयोग तथा उद्यमशील महिला जागरण केन्द्रको आयोजनामा सञ्चालित तालिम बुधबार सम्पन्न भएको हो।
“सिप सिकौं, उद्यमशील बनौं” भन्ने नारासहित सञ्चालन गरिएको तालिममा वडा नम्बर २ का ४० जना युवाहरूको सहभागिता रहेको थियो। तालिममा सहभागीहरूलाई अन्जल कडरियाले सहजीकरण गर्नुभएको थियो।



समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सो अवसरमा वडा सचिव सागर दाहालले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै सीपको प्रयोगबाटै सफलता हासिल गर्न सकिने बताउनुभयो। “१५ दिनसम्म सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्नुहोस्, नत्र प्रमाणपत्र मात्र सादा कागजसरह हुनेछ,” उहाँले भन्नुभयो।
तालिमबाट धेरै व्यावहारिक ज्ञान प्राप्त भएको उल्लेख गर्दै सहभागी रितेश सुबेदीले स्वदेशमै उद्यम गर्न तथा वैदेशिक रोजगारीका लागि समेत यो तालिम उपयोगी भएको बताउनुभयो।
उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन समारोहमा वडा अध्यक्ष अशोक सुब्बा, सहभागीहरू मनिका खत्री, दिलकुमार श्रेष्ठ, मनिता विक लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन केन्द्रकी कोषाध्यक्ष इन्दिरा आचार्य गौतमले गर्नुभएको थियो भने सदस्य हेमलता गुरागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।










