निष्कर्ष न्यूजको सातौं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

दमक — झापाको दमकबाट प्रकाशन हुँदै आएको निष्कर्ष न्यूज साप्ताहिकले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। बुधबार पत्रिकाको टोलीले दमक–५ स्थित दिपिनी आधारभूत विद्यालयमा पुगेर सहयोग हस्तान्तरण गरेको हो।

पत्रिकाकी प्रकाशक तथा प्रधान सम्पादक सुशिला पौडेलको नेतृत्वमा सञ्चालित टोलीका तर्फबाट कार्यकारी सम्पादक विष्णु पौडेल र राजु निरौलाले वडाध्यक्ष इन्द्रबहादुर गुरुङको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलालाई कपी, कलम र पेन्सिल हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै कार्यकारी सम्पादक पौडेलले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विपन्न विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिन सहयोग पुग्ने उद्देश्यले सामग्री प्रदान गरिएको बताए।

वडाध्यक्ष गुरुङ तथा प्रधानाध्यापक निरौलाले उक्त पहलको प्रशंसा गर्दै सामुदायिक विद्यालयमा यस्ता सहयोगले शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय