चाहना योगि, दमक। मातातीर्थ औँसी—आमाप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष दिन। यस अवसरमा अधिकांशले आफ्नी आमालाई मिठो परिकार, मिठाइ वा लत्ताकपडा उपहार दिएर सम्मान गर्ने परम्परा छ। तर दमक–५ निवासी समाजसेवी संगीता खतिवडा भुजेलले यस वर्ष यो दिवसलाई फरक ढंगले मनाउँदै उदाहरणीय कार्य प्रस्तुत गर्नुभएको छ।
दिपिनी आधारभूत योग साधना केन्द्रकी संयोजक समेत रहनुभएकी खतिवडाले मातातीर्थ औँसीको अवसर पारेर जेष्ठ नागरिक आमाहरूलाई सम्मान तथा सेवा प्रदान गर्नुभएको हो। विगत चार वर्षदेखि योग साधना केन्द्र सञ्चालन गर्दै आउनुभएकी उहाँले बिहान आफ्नो केन्द्रमा आउने जेष्ठ आमाहरूलाई खादा र फूलमालासहित सम्मान गर्नुभयो।
यससँगै उहाँले कार्यक्रमलाई अझ व्यापक बनाउँदै सोही दिन बिहानै दमक–४ स्थित रत्न जेष्ठ नागरिक वृद्धाश्रममा पुगेर त्यहाँ आश्रित जेष्ठ नागरिकहरूलाई पनि सम्मान गर्नुभयो। वृद्धाश्रममा रहेका आठ जना आमाबुबालाई फूलमाला लगाएर सम्मान गर्नुका साथै खाना खुवाउनुभयो र आवश्यक लत्ताकपडा वितरण गर्नुभयो।
दमक लायन्स सेविकाकी प्रेसिडेन्ट समेत रहनुभएकी खतिवडाले हरेक वर्ष यस्ता सेवामूलक कार्य गर्दै आउनुभएको छ। उहाँले आश्रयस्थलमा रहेका जेष्ठ आमाहरूप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
आफ्नो आमा नभएको सम्झनामा बेसहारा आमाहरूलाई सेवा गर्न पाउँदा विशेष अनुभूति भएको उल्लेख गर्दै उहाँले यस्तो अवसरमा सेवा गर्न पाउनु नै आफूका लागि गर्वको विषय भएको बताउनुभयो। साथै उहाँले सम्पूर्ण आमाहरूप्रति सम्मान व्यक्त गर्दै मातातीर्थ औँसीको शुभकामना पनि दिनुभयो।
उहाँले सञ्चालन गर्दै आएको योग साधना केन्द्रको उद्देश्यबारे प्रकाश पार्दै आफू मात्र स्वस्थ रहने नभई अरूलाई पनि स्वस्थ बनाउने र मानसिक तनावबाट मुक्त गराउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा योग साधना केन्द्रका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। मातातीर्थ औँसीको अवसरमा गरिएको यस प्रकारको सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै जेष्ठ नागरिकप्रतिको सम्मान अझ सुदृढ बनाउने अपेक्षा गरिएकोछ।




