गौरादह उद्योग वाणिज्य संघमा युवा नेतृत्वको संकेत: अनिश कार्की अध्यक्षका आकांक्षी

गौरादह — गौरादह उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातिँदै गएको छ। यसैबीच युवा व्यवसायी तथा पाथिभारा डिपार्टमेन्ट स्टोरका सञ्चालक अनिश कार्की अध्यक्ष पदका आकांक्षीका रूपमा अगाडि आउने तयारीमा रहेको चर्चा सुरु भएको छ।

“परिवर्तनका लागि युवा आवश्यक” भन्ने नारासहित अघि बढिरहेका कार्कीले अनुभव र ऊर्जा संयोजन गर्दै संघलाई नयाँ दिशा दिने लक्ष्य लिएका छन्। उनी युवा व्यवसायीहरूलाई प्रेरित गर्ने र नयाँ व्यवसाय सुरु गर्न चाहनेलाई मार्गदर्शन गर्ने योजनासहित उम्मेद्बारी घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ।

वि.सं. २०८० को निर्वाचनमा उत्कृष्ट मतसहित सदस्य पदमा निर्वाचित कार्की यसपटक अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गर्न लागेका हुन्। उनको सम्भावित उम्मेद्बारीले संघभित्र नयाँ सोच, ऊर्जा र सकारात्मक परिवर्तनको अपेक्षा बढाएको छ।

व्यवसायीहरूको हक–हितका पक्षमा निरन्तर सक्रिय कार्कीलाई विशेषगरी युवा पुस्ताले परिवर्तनको प्रतीकका रूपमा लिन थालेका छन्। उनले पारदर्शिता, व्यवसायमैत्री वातावरण, सुशासन र समावेशी विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

संघभित्र देखिँदै आएको राजनीतिक प्रभाव र भागबण्डाको अन्त्य गर्दै संस्थालाई व्यवसायीहरूको साझा मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

आफ्नो आकांक्षा सार्वजनिक गर्दै कार्कीले गौरादह नगरभित्रका सबै बजार क्षेत्रका व्यवसायीहरूको हितमा सक्रिय भूमिका खेल्ने बताएका छन्। “हालको आर्थिक मन्दीका कारण व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको छ, यसको समाधान खोज्नु नै मेरो प्राथमिकता हुनेछ,” उनले भने।

स्थानीय व्यवसायी र सरोकारवालाहरूले कार्कीको नेतृत्वप्रति सकारात्मक संकेत देखाएका छन्। आगामी निर्वाचनले संघको भावी दिशा तय गर्ने भएकाले अहिले सबैको ध्यान यसतर्फ केन्द्रित भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय