सन्दिप थापा, गौरादह — गौरादहमा निर्माणाधीन साना किसान सहकारी संस्थाको भवन निर्माण कार्य लामो समयदेखि रोकिएको छ। कृषि तथा पशुपन्छी मन्त्रालय, कोशी प्रदेशको सहयोगमा सुरु गरिएको उक्त परियोजना हाल बजेट अभाव र प्राविधिक असंगतिका कारण अलपत्र अवस्थामा पुगेको हो।
२०७५/७६ आर्थिक वर्षदेखि सुरु गरिएको उक्त भवन निर्माण कार्य गौरादह नगरपालिकाले ठेक्का प्रक्रियामार्फत व्यवस्थापन गर्दै अघि बढाएको थियो। सहकारीको सेवा विस्तार तथा किसानलाई एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले भवन निर्माण सुरु गरिएको थियो।
बजेट विवरण
परियोजनाका लागि करिब ६ करोड रुपैयाँको अनुमानित लागत तय गरिएको थियो। सोमध्ये हालसम्म करिब ३ करोड रुपैयाँ मात्र निकासा भएको र बाँकी रकम फ्रिज भएको बताइएको छ।
नगरपालिकाबाट भवन निर्माणका लागि थप ३० लाख रुपैयाँ छुट्याउने भनिए पनि हालसम्म आधिकारिक रूपमा उक्त रकम उपलब्ध नभएको साना किसान सहकारीमा कार्यरत एक कर्मचारीले जानकारी दिए।
निर्माण रोक्नुका कारण
निर्माण कार्य रोकिनुको मुख्य कारण डिपिआर (DPR) अनुसारको नक्सा र स्थलगत संरचनामा देखिएको भिन्नता तथा बजेट अभाव रहेको बताइएको छ। प्राविधिक असंगति र आवश्यक समन्वय नहुँदा निर्माण कार्य अघि बढ्न नसकेको हो।
स्थानीय प्रभावित
भवन निर्माण लामो समयदेखि रोकिँदा सहकारीका सदस्य तथा स्थानीय किसानहरू सेवा सुविधाबाट वञ्चित भएका छन्। प्रशासनिक कार्य र सेवा विस्तारमा समेत असर परेको उनीहरूको गुनासो छ।
स्थानीयहरूले सम्बन्धित निकायलाई तत्काल समस्या समाधान गरी रोकिएको निर्माण कार्य पुनः सुरु गर्न माग गरेका छन्।



