झापा — कमल गाउँपालिकामा खानेपानी तथा सरसफाइसँग सम्बन्धित व्यवहार परिवर्तनलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँच दिने प्रशिक्षकहरूको प्रशिक्षण (TOT) तालिम सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न उक्त तालिमले समुदायमा सुरक्षित खानेपानीको प्रयोग, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, खुला दिसामुक्त व्यवहारको दिगोपना तथा स्वास्थ्य प्रवर्द्धनलाई व्यवहारमै लागू गराउने लक्ष्य राखेको थियो।
तालिम अवधिभर सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यास, समूहगत छलफल, प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक सिकाइ विधिमार्फत प्रशिक्षण प्रदान गरिएको थियो। यसले सहभागीहरूलाई सक्षम प्रशिक्षकका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।
उक्त तालिममा अनुभवी मास्टर ट्रेनर गजेन्द्र राईले सहजीकरण गर्दै व्यवहार परिवर्तन सञ्चार (BCC), समुदाय परिचालन, स्वच्छता प्रवर्द्धनका व्यावहारिक उपायहरू तथा स्थानीय सन्दर्भअनुसार प्रभावकारी प्रशिक्षण दिने विधिबारे जानकारी गराउनुभएको थियो।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष राईले स्वच्छता र सरसफाइ केवल पूर्वाधार निर्माणमा सीमित नरही व्यवहार परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्नुभयो। उहाँले प्रशिक्षित जनशक्तिले अब गाउँगाउँमा पुगेर जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो, जसले उनीहरूको सीप तथा दक्षतालाई औपचारिक मान्यता प्रदान गरेको छ।
स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालका अनुसार, उक्त तालिमले कमल गाउँपालिकामा स्वच्छता प्रवर्द्धन, सुरक्षित खानेपानीको पहुँच विस्तार तथा स्वास्थ्यकर व्यवहार विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




