झापा । समुदायस्तरमा पूर्ण सरसफाइ तथा स्वच्छता व्यवहारलाई दीगो र प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले कमल गाउँपालिकामा पाँच दिने प्रशिक्षकहरूको प्रशिक्षण (Training of Trainers – TOT) तालिम औपचारिक रूपमा सुरु भएको छ। सरसफाइसम्बन्धी व्यवहार परिवर्तनलाई स्थानीय तहसम्म संस्थागत गर्दै लैजाने लक्ष्यसहित सञ्चालन गरिएको यो तालिमले स्वास्थ्य तथा स्वच्छता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आजदेखि सञ्चालनमा आएको तालिम उद्घाटन कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, विभिन्न शाखाका कर्मचारी तथा सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



तालिममा सरसफाइ तथा स्वास्थ्य प्रवर्द्धनसँग सम्बन्धित विषयहरूमा सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यासमार्फत दक्ष बनाइने प्रशिक्षक गजेन्द्र राईले जानकारी दिनुभयो। उहाँका अनुसार, तालिमले सहभागीहरूलाई प्रशिक्षकका रूपमा विकास गरी उनीहरूमार्फत समुदायमा व्यवहार परिवर्तनको सन्देश प्रभावकारी रूपमा पुर्याउने लक्ष्य राखिएको छ।
यस तालिममा विशेषगरी पूर्ण सरसफाइ, सुरक्षित खानेपानी, व्यक्तिगत तथा वातावरणीय स्वच्छता, स्वास्थ्य व्यवहार परिवर्तन, समुदाय परिचालन लगायतका विषयहरू समेटिनेछन्। सहभागीहरूले सिकेका ज्ञान तथा सीपलाई आ-आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै समुदायमा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय तथा विकास साझेदार संस्थाहरूको सहकार्य रहेको छ। वाटर एड, एसएनभि, युनिभर्सिटी अफ लिड्स, युके इन्टरनेसनल डेभलपमेन्ट जस्ता संस्थाहरूले प्राविधिक तथा सहयोगात्मक भूमिका निर्वाह गरिरहेको सहकार्यले स्थानीय तहमा सञ्चालन हुने कार्यक्रमहरूको प्रभावकारिता थप सुदृढ हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा योजना शाखा प्रमुख हिमाल मिश्रले तालिमले आफ्नो क्षमता अभिवृद्धि गर्नुका साथै समुदायमा स्वास्थ्य तथा सरसफाइ सम्बन्धी व्यवहार परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिकाइलाई व्यवहारमा रूपान्तरण गर्दै समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहालले तालिममा स्वास्थ्य शाखा, शिक्षा शाखा, पूर्वाधार (खानेपानी) शाखा तथा कमल गाउँपालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट दुई/दुई जना सहभागी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, बहु-क्षेत्रीय सहभागिताले तालिमको प्रभावकारिता अझ वृद्धि गर्नेछ।
पाँच दिन सञ्चालन हुने तालिम अवधिभर सहभागीहरूलाई व्यवहार परिवर्तनसम्बन्धी व्यावहारिक सीपमा निपुण बनाउँदै समुदायमा दीगो सरसफाइ प्रवर्द्धनका लागि सक्षम जनशक्ति तयार पार्ने लक्ष्य राखिएको छ।








