कमल, झापा। कमल गाउँपालिकाले निर्माण गरिरहेको प्रशासनिक भवनलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका बेला गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भवन निर्माणको आवश्यकता र औचित्यबारे प्रष्टीकरण दिएका छन्। अध्यक्ष राईले आलोचना र आरोपभन्दा रचनात्मक सुझाव तथा सहकार्य आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष राईले समाज र देशका लागि भ्रम फैलाउने तथा नकारात्मकता बढाउने प्रवृत्ति त्याग्न आग्रह गरेका छन्।
अध्यक्ष राईले गाउँपालिकाको प्रशासनिक भवन निर्माणको आवश्यकता स्पष्ट गर्दै हालको प्रशासनिक संरचना पाँचवटा छुट्टाछुट्टै भवनमा रहेको र वर्षायाममा अधिकांश भवन चुहिने समस्या रहेको उल्लेख गरेका छन्। एउटै भवनबाट नागरिकलाई चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गरी सुशासनको अनुभूति दिलाउनु प्रशासनिक भवन निर्माणको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।



उनले गाउँपालिकालाई आवश्यक मापदण्ड पूरा भए नगरपालिका बनाउने वा नभए गाउँपालिकाकै रूपमा अघि बढाउने निर्णय भइसकेको जनाउँदै प्रशासनिक भवन नेतृत्व परिवर्तन भए पनि दीर्घकालसम्म कमलबासीको सम्पत्तिका रूपमा रहने बताए।
अध्यक्ष राईले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिकालगायत नागरिकका सरोकारका विषयमा छलफल र सुझावका लागि आफू सदैव तयार रहेको बताएका छन्।










