झापा, कमल । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप, सरसफाइ प्रवर्द्धन तथा खोप कार्यक्रमको सूक्ष्मयोजनाको समीक्षा र आगामी कार्ययोजना तर्जुमासम्बन्धी दुईदिने गोष्ठी कमल गाउँपालिकामा सम्पन्न भएको छ।
कमल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको आयोजनामा भदौ १७ गतेदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको गोष्ठी भदौ १८ गते सम्पन्न भएको हो। गोष्ठीमा नियमित खोप कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीको समीक्षा गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक कार्ययोजना तयार गरिएको थियो।



कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राईले राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षा क्षेत्र, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार तथा समुदायस्तरका सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले कुनै पनि बालबालिका नियमित खोप सेवाबाट वञ्चित हुन नदिन स्थानीय तहले विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिँदै खोप सेवासँगै सरसफाइ र स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताउनुभयो।
अध्यक्ष राईका अनुसार आगामी दिनमा खोप कार्यक्रमलाई थप व्यवस्थित, पहुँचयोग्य र परिणाममुखी बनाउन सूक्ष्मयोजनाले महत्वपूर्ण भूमिका खेल्नेछ।
गोष्ठीमा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले राष्ट्रिय खोप कार्यक्रम स्थानीय तहको जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो। उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई आवश्यक स्रोत–साधन र अनुकूल वातावरण उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

तथ्याङ्कमा आधारित योजना निर्माण, नियमित अनुगमन तथा स्वास्थ्य संस्था र वडा तहबीच प्रभावकारी समन्वयबाट खोप कार्यक्रमको लक्ष्य हासिल गर्न सकिने बताउँदै ढकालले आगामी आर्थिक वर्षको कार्ययोजनालाई व्यवहारिक र परिणाममुखी बनाएर निर्धारित समयमै कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो।
गोष्ठीको प्राविधिक सहजीकरण स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत बालकृष्ण भण्डारीले गर्नुभएको थियो। उहाँले गत आर्थिक वर्षमा सञ्चालन भएका खोप कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौती र आगामी कार्यदिशाबारे सहजीकरण गर्नुभएको थियो।
गोष्ठीमा नियमित खोप सेवाको अवस्था, खोपबाट छुटेका बालबालिकाको पहिचान तथा खोजपड्ताल, सूक्ष्मयोजना, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन, सरसफाइ प्रवर्द्धन र कार्यक्रमको प्रभावकारितालगायत विषयमा छलफल गरिएको थियो। छलफलपछि आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नियमित खोप कार्यक्रमको विस्तृत योजना तथा सूक्ष्मयोजना अद्यावधिक गरी आवश्यक कार्ययोजना निर्माण गरिएको छ।
जेई खोप अभियानको तयारीमा पनि जोड
गोष्ठीमा आगामी जापानिज इन्सेफलाइटिस (जेई) खोप अभियानको तयारीबारे समेत विशेष छलफल गरिएको थियो। स्वास्थ्य कार्यालय झापाले अभियान आश्विन महिनामा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराएको थियो।
अभियानलाई प्रभावकारी बनाउन लक्षित बालबालिकाको पहिचान, आवश्यक जनशक्ति परिचालन, खोप केन्द्र तथा खोप सत्र व्यवस्थापन, प्रचारप्रसार, अनुगमन तथा अन्य व्यवस्थापकीय पक्षबारे छलफल गरिएको थियो।
गोष्ठीमा कमल गाउँपालिकाअन्तर्गतका ८ वटै स्वास्थ्य संस्थाका प्रमुख तथा खोपकर्मी सहभागी थिए। स्वास्थ्य क्षेत्रसँगै शिक्षा शाखालगायत सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।
स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले आ–आफ्नो संस्थामा सञ्चालन भइरहेको खोप सेवाको अवस्था, उपलब्धि, समस्या, चुनौती तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रमको सञ्चालन कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दहालले गर्नुभएको थियो।
गोष्ठीको समापनमा सहभागीहरूले नियमित खोप कार्यक्रमको पहुँच र प्रभावकारिता बढाउने, कुनै पनि बालबालिकालाई खोप सेवाबाट वञ्चित हुन नदिने, सरसफाइ प्रवर्द्धनलाई प्रभावकारी बनाउने तथा आगामी जेई खोप अभियानलाई निर्धारित कार्ययोजनाअनुसार व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।












