स्वास्थ्य मन्त्रीद्वारा विदुर र त्रिशूलीका प्रभावित क्षेत्रको स्थलगत अनुगमन, स्वास्थ्य सेवा सुनिश्चित गर्न जोड

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज निशा मेहताले आज नुवाकोटको विदुर आसपासका विभिन्न क्षेत्रको अनुगमन गर्नुभएको छ।

‎अनुगमनका क्रममा विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढीबाट प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट तल्लो पिपलटार तथा चन्द्रज्योति माध्यमिक विद्यालय लगायतका सेल्टर पुगेर अवस्थाको जानकारी लिनुभएको छ।

‎उहाँले प्रभावित तथा पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग समेत भेट गरी पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको हो।

‎यस क्रममा प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने, औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्ने, स्वास्थ्यकर्मी परिचालन गर्ने तथा विपद्पछिको सम्भावित सरुवा रोग र अन्य स्वास्थ्य जोखिम न्यूनीकरणका लागि आवश्यक काम भइरहेको उहाँले जनाउनु भएको छ। साथै, मनोपरामर्शदातामार्फत प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थालाई समेत सम्बोधन गर्दै हरेक सेल्टरमा मानसिक आवश्यक काउन्सिलिङ र उपचार समेत भइरहेको छ।

‎विपद्को परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक स्रोत, जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय