कमलमा राष्ट्रिय खोप कार्यक्रमको समीक्षा तथा कार्ययोजना गोष्ठी

कमल, झापा। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप तथा सरसफाइ प्रवर्द्धन कार्यक्रमको समीक्षा र आगामी आर्थिक वर्षका लागि कार्ययोजना तर्जुमा गर्ने उद्देश्यले कमल गाउँपालिकामा दुईदिने समीक्षा तथा कार्ययोजना गोष्ठी सुरु भएको छ।

कमल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको आयोजनामा भदौ १७ गतेदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको गोष्ठी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ। गोष्ठीमा गाउँपालिकाभित्र सञ्चालन भइरहेको नियमित खोप कार्यक्रमको प्रगति, खोपको सूक्ष्मयोजना, सरसफाइ प्रवर्द्धन तथा आगामी कार्यक्रमका विषयमा छलफल भइरहेको छ।

कमल गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राईले राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षा क्षेत्र तथा समुदायका सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कुनै पनि बालबालिका नियमित खोप सेवाबाट वञ्चित हुन नदिन स्थानीय तहले विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष राईले खोप सेवासँगै सरसफाइ तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताउँदै आगामी दिनमा खोप कार्यक्रमलाई थप व्यवस्थित र परिणाममुखी बनाउन सूक्ष्मयोजनाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित खोप सेवाको पहुँच विस्तार तथा सरसफाइ प्रवर्द्धनमा सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

गोष्ठीको सहजीकरण स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत बालकृष्ण भण्डारीले गर्नुभएको छ। उहाँले गत आर्थिक वर्षमा सञ्चालन भएका खोप कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाका विषयमा सहजीकरण गर्नुभएको हो।

गोष्ठीमा गत आर्थिक वर्षको खोप कार्यक्रमको प्रगति, खोपको सूक्ष्मयोजना, सरसफाइ प्रवर्द्धन तथा कार्यक्रमको प्रभावकारितालगायतका विषयमा छलफल भइरहेको छ। साथै, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि खोप कार्यक्रमको विस्तृत योजना तथा सूक्ष्मयोजना निर्माण गरी आवश्यक कार्ययोजना तय गर्ने विषयमा समेत छलफल भइरहेको आयोजकले जनाएको छ।

यसैगरी, आगामी दिनमा सञ्चालन हुने जापानिज इन्सेफलाइटिस (जेई) खोप अभियानको तयारी तथा सञ्चालनसम्बन्धी विषयमा समेत गोष्ठीमा छलफल गरिएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार जेई खोप अभियान आश्विन महिनामा सञ्चालन गर्ने तयारी भइरहेको छ।

गोष्ठीमा कमल गाउँपालिकाअन्तर्गतका ८ वटै स्वास्थ्य संस्थाका प्रमुख तथा खोपकर्मी सहभागी छन्। स्वास्थ्य क्षेत्रसँगै शिक्षा शाखालगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको छ।

कार्यक्रमको सञ्चालन कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहालले गर्नुभएको छ। दुईदिने गोष्ठीमा नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने, खोपबाट छुटेका बालबालिकाको पहिचान गरी सेवाको पहुँच सुनिश्चित गर्ने, सरसफाइ प्रवर्द्धनलाई प्रभावकारी बनाउने तथा आगामी जेई खोप अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय