दमक । दमक–९ स्थित दमक बाल आश्रममा बालबालिकाका लागि डेढ लाख रुपैयाँभन्दा बढी मूल्यका खेल सामग्री हस्तान्तरण गरिएको छ। रोटरी क्लब अफ दमकको पहल तथा विभिन्न व्यक्ति र संस्थाको सहयोगमा आश्रम परिसरमा खेल उद्यान निर्माण गरी पिङ, ढिकिच्याउ, चिप्लेटी र घुमाउने खेल सामग्री उपलब्ध गराइएको हो।
रोटरी क्लब अफ दमकले एक कार्यक्रमबीच बाल आश्रमकी अध्यक्ष मन्दरा चिमरिया पौडेल, कोषाध्यक्ष मेनुका बुढाथोकी र सदस्य रामकुमारी पौडेललाई संयुक्त रूपमा खेल सामग्री हस्तान्तरण गरेको हो।



बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले खेल उद्यान निर्माण गरिएको रोटरी क्लब अफ दमकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि दमक–९ का वडाध्यक्ष कुबेर भट्टराई तथा विशिष्ट अतिथिमा दमक–७ का वडाध्यक्ष भिमबहादुर पौडेल र दमक–८ का वडाध्यक्ष दिपेशप्रसाद दाहाल रहनुभएको थियो।
कार्यक्रममा रोटरी क्लब अफ दमकका अध्यक्ष सागर श्रेष्ठ, सचिव देवेन्द्र बराल, कार्यक्रम संयोजक विकास अग्रवाल, पूर्वअध्यक्ष नविन कुमार श्रेष्ठल, इलेक्ट अध्यक्ष भेनस श्रेष्ठ, कमिटेड नोमिनी सञ्जु कुमार पराजुली, उपाध्यक्ष सन्दीप साहेवाला, सहसचिव जासमिन करान्जित श्रेष्ठ, क्लब एडमिन चेयर सन्दीप चापागाईं (दिपु), क्लब एडिटर भूपेन्द्रप्रसाद कोइराला, पुर्व अध्यक्ष बिक्रम शाह, साथै रोटरीयनहरु रमा लिम्बू, युवराज निरौला, मुकेश गुप्ता, पुर्व रोट्रयाक्ट अध्यक्ष सावन अधिकारी लगायत रोटरीयनहरूको सहभागिता थियो।
आश्रमकी अध्यक्ष मन्दरा चिमरिया पौडेलले बालबालिकाका लागि यति ठूलो धनराशिको खेल सामग्री उपलब्ध गराएकोमा रोटरी क्लब तथा सहयोगी व्यक्ति र संस्थाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले खेल सामग्रीले बालबालिकाको मनोरञ्जनसँगै शारीरिक र मानसिक विकासमा समेत सहयोग पुग्ने बताउनुभयो।
रोटरी क्लब अफ दमकका अध्यक्ष सागर श्रेष्ठले क्लबको वार्षिक कार्यक्रमअन्तर्गत सामाजिक तथा परोपकारी गतिविधिलाई निरन्तरता दिँदै आएको बताउनुभयो। उहाँले कार्यक्रम संयोजक विकास अग्रवालको नेतृत्वमा बाल आश्रममा खेल उद्यान निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
कार्यक्रम संयोजक विकास अग्रवालले खेल उद्यान निर्माणका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँका अनुसार क्लबका सदस्यहरूले स्वैच्छिक रूपमा गरेको सहयोगका साथै मारवाडी युवा मञ्च दमक, इन्ट्रयाक्ट क्लब अफ जेम्स तथा बेलायतमा रहेका रामेश्वरी र सुनिल श्रेष्ठबाट प्राप्त सहयोग रकमसमेत संकलन गरी खेल उद्यान स्थापना गरिएको हो।
क्लबका पूर्वअध्यक्ष नविन कुमार श्रेष्ठले रोटरी क्लबको उद्देश्य तथा सामाजिक र परोपकारी गतिविधिबारे जानकारी गराउनुभयो। उहाँले रोटरीले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
प्रमुख अतिथि वडाध्यक्ष कुबेर भट्टराईले पछिल्लो समय समाजमा आपसी समझदारी, माया र सहयोगको भावना कमजोर हुँदै गएको अवस्थामा रोटरी क्लबले आफ्नो आम्दानीबाट खर्च कटाएर सामाजिक सेवामा योगदान गर्नु प्रशंसनीय भएको बताउनुभयो। उहाँले बालबालिकाको खुसी र विकासका लागि गरिएको यस प्रकारको सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।
कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ दमकका सचिव देवेन्द्र बरालले गर्नुभएको थियो। उहाँले “सेवा नै रोटरीको पहिचान हो र बालबालिकाको ओठमा मुस्कान नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो” भन्नुभयो।
रोटरी क्लब अफ दमकले यसअघि पनि आश्रमका बालबालिकाका लागि सहयोग गर्दै आएको छ। क्लबले अघिल्लो वर्ष बाल आश्रमका बालबालिकालाई कपडा हस्तान्तरण गरेको थियो। यसपटक भने बालबालिकाको मनोरञ्जन, शारीरिक सक्रियता र मानसिक विकासलाई केन्द्रमा राखेर खेल उद्यान निर्माण गरी खेल सामग्री हस्तान्तरण गरिएको हो।











