काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण भएको बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेकाले त्यसकै असरस्वरूप विपत्ति आएको बताउनुभयो। उहाँले भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको विज्ञहरूको भनाइ उद्धृत गर्नुभएको छ।



प्रधानमन्त्री शाहका अनुसार हिमनदीभित्र पग्लिएको पानीका कारण बरफ र पानी दुवै मिसिएर ठूलो बाढी आएको हुनसक्ने देखिएको छ। हिमनदीको ठूलो भाग उच्च स्थानबाट खस्दा उत्पन्न ऊर्जाले त्यहीँबाट पग्लिन सुरु गरी निरन्तर पग्लिँदै बाढीको रूप लिएको हुनसक्ने उहाँको भनाइ छ।
उहाँले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दै गएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभएको छ। साथै, विपत्तिपछि खोज, उद्धार र राहतको कामसँगै प्रभावितको स्वास्थ्य उपचार, मनोपरामर्श र पुनःस्थापनाको काम अघि बढिरहेको बताउनुभएको छ।
प्रधानमन्त्रीका अनुसार नुवाकोटका १९ अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय तथा राहत पाएका छन्। रसुवाका प्रभावितलाई समेत नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ।
बाढी प्रभावितका लागि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको उहाँले जानकारी दिनुभएको छ। भारतले ६८.५ टन राहत तथा उद्धार सामग्री र ११ सदस्यीय उद्धार टोली नेपाल पठाएको छ। पाकिस्तानबाट ८६ टन, चीनबाट ५० टन र यूएईबाट ८३ टन राहत सामग्री प्राप्त भएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।
त्यस्तै, चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरेको छ भने प्रभावित क्षेत्रमा ३० वटा बेलीब्रिजका लागि नेपालले चीनसँग अनुरोध गरेको छ।
अमेरिकाबाट ५ लाख अमेरिकी डलर, अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर र श्रीलङ्काबाट १० लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता आएको छ। यूएईले १० मिलियन डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
एडीबी, विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ, युरोपेली सङ्घ, बेलायत, जापानलगायतका निकाय तथा मित्रराष्ट्रबाट पनि राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि सहयोग तथा प्रतिबद्धता प्राप्त भइरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।










