कुष्ठरोगको प्रारम्भिक पहिचानमा शिक्षकलाई जिम्मेवार बनाउँदै कमल गाउँपालिका

कमल, झापा । कमल गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ मा रहेका संस्थागत विद्यालयका शिक्षक–शिक्षिकालाई कुष्ठरोगसम्बन्धी अभिमुखीकरण दिइएको छ।

कमल गाउँपालिकाको आयोजना तथा नेपाल कुष्ठरोग सङ्गति (NLF) को समन्वयमा आयोजित कार्यक्रममा विद्यालय तहबाटै कुष्ठरोगका सम्भावित लक्षण पहिचान गर्ने, समयमै स्वास्थ्य संस्थामा परीक्षण तथा उपचारका लागि पठाउने र रोगका कारण हुन सक्ने जटिलता तथा अपाङ्गता रोकथाममा शिक्षकको भूमिकाबारे जानकारी गराइएको थियो।

कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले विद्यालयस्तरमै कुष्ठरोगको शंका भएका विद्यार्थी पहिचान गरी स्वास्थ्य संस्थामा परीक्षणका लागि पठाउन सके रोग प्रारम्भिक चरणमै पत्ता लगाउन सकिने बताउनुभयो।

उहाँले शिक्षक विद्यार्थीका लागि पहिलो स्वास्थ्य सचेतकजस्तै भएकाले विद्यार्थीको स्वास्थ्यप्रति थप संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो। विद्यालय तहबाटै स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न सके विद्यार्थी हुँदै परिवार र समुदायसम्म सकारात्मक सन्देश पुर्‍याउन सकिने उहाँको भनाइ थियो।

अध्यक्ष राईले कुष्ठरोग समयमै पहिचान गरी परीक्षण तथा उपचारमा ल्याउन सके रोगबाट हुन सक्ने जटिलता र अपाङ्गता रोकथाममा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। कुष्ठरोगका कारण शारीरिक समस्यासँगै सामाजिक विभेद र मानसिक पीडा पनि भोग्नुपर्ने अवस्था रहेकाले रोगबारे सही सूचना र सकारात्मक धारणा विकास गर्न विद्यालय तहबाटै जनचेतना फैलाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले कमल गाउँपालिका स्वास्थ्य शाखा र NLF ले कुष्ठरोग नियन्त्रण तथा रोकथामका क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो। कुष्ठरोग नियन्त्रण तथा न्यूनीकरणका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रमको सहजीकरण कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहाल र कमल नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठले गर्नुभएको थियो। उहाँहरूले कुष्ठरोगको प्रारम्भिक पहिचान, परीक्षण, उपचार तथा रोकथामका साथै रोगसँग जोडिएका भ्रम, डर र गलत धारणाको अन्त्यका विषयमा सहभागीलाई जानकारी गराउनुभयो।

स्वास्थ्य शाखा प्रमुख दाहालले कमल गाउँपालिका स्वास्थ्य शाखा र NLF ले कुष्ठरोग नियन्त्रण तथा रोकथामका क्षेत्रमा सञ्चालन गर्दै आएका सक्रिय खोजपड्ताल, LPEP, अभिमुखीकरण तथा जनचेतनामूलक गतिविधिबारे जानकारी गराउनुभयो। विद्यालय तथा शिक्षकको सहयोगबाट समुदायमा लुकेर रहेका सम्भावित कुष्ठरोगका बिरामीलाई समयमै स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सकिने उहाँले बताउनुभयो।

अभिमुखीकरणमा सहभागी शिक्षक–शिक्षिकालाई कुष्ठरोगका प्रमुख लक्षण तथा चिन्ह, रोग सर्ने अवस्था, प्रारम्भिक पहिचान, परीक्षण तथा उपचार, रोकथाम, अपाङ्गता न्यूनीकरण र समुदायमा कुष्ठरोगसम्बन्धी जनचेतना अभिवृद्धिलगायतका विषयमा जानकारी गराइएको थियो।

विद्यालयमा दैनिक रूपमा विद्यार्थीको प्रत्यक्ष सम्पर्कमा रहने शिक्षकले शरीरमा देखिने असामान्य दाग, छालामा संवेदनामा कमी वा अन्य शंकास्पद लक्षण पहिचान गरी समयमै स्वास्थ्य संस्थामा सम्पर्क गराउन सके कुष्ठरोगको प्रारम्भिक पहिचान र अपाङ्गता रोकथाममा महत्वपूर्ण योगदान पुग्ने कार्यक्रममा जोड दिइएको थियो।

कार्यक्रममा नेपाल कुष्ठरोग सङ्गति (NLF) का कार्यक्रम अधिकृत डि.वि. गुरुङ, शिक्षा शाखाका अधिकृत रविन गौतम, सि.अ.न.मि. प्रतीक्षा शाह, कमल गाउँपालिका अपाङ्गता समितिका पदाधिकारी, वडा नम्बर १, २, ३ र ४ का संस्थागत विद्यालयका शिक्षक–शिक्षिका तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

कमल गाउँपालिकाले कुष्ठरोगको समयमै पहिचान, उपचार तथा रोकथामका लागि NLF लगायत सरोकारवाला निकायसँगको समन्वयमा सक्रिय खोजपड्ताल, LPEP, अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विद्यालय तहसम्म कुष्ठरोगसम्बन्धी सचेतना विस्तार गर्दै विद्यार्थी, परिवार तथा समुदायमा रोगबारे रहेको डर, भ्रम र सामाजिक विभेद हटाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय