कमल, झापा। जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा सञ्चालन भइरहेको Jhapa Action Against Narcotics (JAAN–२०८३) अभियानअन्तर्गत कमल गाउँपालिकामा लागूऔषधविरुद्धको पोस्टर अभियान सुरु गरिएको छ।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का आतिथ्यता रहेको थियो।



कार्यक्रममा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेत, सरकारी तथा सामुदायिक र निजी संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षा , स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लागूऔषधविरुद्धका जनचेतनामूलक पोस्टर हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरिएको हो। अभियानले विशेषगरी युवा तथा विद्यार्थीलाई लागूऔषधबाट टाढा राख्दै समुदायस्तरमा सचेतना, रोकथाम र नियन्त्रणका लागि सहकार्य बढाउने लक्ष्य लिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले लागूऔषध नियन्त्रणका लागि समुदायका सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। लागूऔषध प्रयोगको कारण पहिचान गरी सम्बन्धित व्यक्तिलाई उचित सल्लाह, सुझाव र आवश्यक सहयोग प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। लागूऔषधका कारण टोल, परिवार र समाजले भोग्नुपरेका दुःख तथा समस्यालाई न्यूनीकरण गर्न सबैको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो।

झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले समुदाय साझेदारी कार्यक्रममार्फत लागूऔषध नियन्त्रण तथा रोकथाममा सकारात्मक परिणाम देखिएको उल्लेख गर्नुभयो। प्रहरीको प्रयास मात्रले समस्या समाधान नहुने भन्दै विद्यालय, स्थानीय सरकार, अभिभावक, शिक्षक, विद्यार्थी तथा समुदायको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले भन्नुभयो “लागूऔषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी होइन। स्थानीय सरकार, विद्यालय र समुदाय सबैले मिलेर निरन्तर अभियान सञ्चालन गर्नुपर्छ।”
उपस्थित सहभागीहरुले “विद्यालयबाटै विद्यार्थीलाई लागूऔषधको असर र जोखिमबारे सचेत गराउन आवश्यक रहेको बताए । अभिभावक र विद्यालयबीचको सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गरेका थिए।”
उनिहरुले “लागूऔषध प्रयोगकर्तालाई दण्ड मात्र होइन, आवश्यक परामर्श, उपचार र पुनःस्थापनाको अवसर दिनुपर्ने जोड दिए।”
जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा लागूऔषधको नियन्त्रण, रोकथाम तथा सचेतना अभिवृद्धिका विभिन्न कार्यक्रम जिल्लाभर सञ्चालन भइरहेका छन्। JAAN–२०८३ अन्तर्गत पोस्टर अभियानलाई पनि समुदाय र विद्यालय तहसम्म पुर्याउँदै लागूऔषधविरुद्धको जनचेतना विस्तार गर्ने लक्ष्य राखिएको छ।











