झापा । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, झापा क्षेत्र नं. ५ क्षेत्रीय समितिको आयोजनामा कमल गाउँपालिका–६, गेउरियामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी दमक शाखाको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई प्रमुख अतिथि तथा उपाध्यक्ष प्रमिला न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।



कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष राईले रक्तदान मानव जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सामाजिक सेवा भएकाले रक्तदान अभियानमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले समुदायस्तरमा हुने यस्ता मानवीय अभियानलाई स्थानीय तहबाट समेत प्रोत्साहन गरिने धारणा राख्नुभयो।
नेपाल सैनिक संघ झापा जिल्ला सभापति कान्तीबहादुर कार्कीले रक्त अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नियमित रक्तदानको संस्कार विकास गर्नुपर्ने बताउनुभयो। उहाँले भूतपूर्व सैनिक संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको रक्तदान कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो।
रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए। रक्तदातामध्ये २० प्रतिशत महिला र बाँकी पुरुष रहेको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा फुटबल एकेडेमीका गजेन्द्र देवान, दमक नगर तेक्वान्दो डोजाङका अध्यक्ष जितबहादुर धिमाललगायत कमल गाउँपालिका वडा नं. ५, ६ र ७ का जनप्रतिनिधि, बजार व्यवस्थापन समिति, टोल विकास संस्था, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रमका सहभागीहरूले रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय सेवा भएकाले नियमित रूपमा यस्ता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, झापा क्षेत्र नं. ५ का सभापति गोपालबहादुर निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव बलराम धिमालले गर्नुभएको थियो।










