कमल, झापा । कमल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाह तथा उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्य कार्यक्रम, उपलब्धि, समस्या, चुनौती तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।



कार्यक्रममा नियमित खोप, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित प्रसूति, पोषण, परिवार नियोजन, सरुवा तथा नसर्ने रोग नियन्त्रण र मानसिक स्वास्थ्यलगायतका कार्यक्रमको समीक्षा गरिएको थियो।
कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहालका अनुसार विगत एक वर्षमा स्वास्थ्य क्षेत्रमा भएका कामको वस्तुनिष्ठ मूल्याङ्कन गर्दै आगामी दिनमा सेवाप्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले समीक्षा आयोजना गरिएको हो।
गाउँपालिकाले पछिल्लो समय स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ। कमल नगर अस्पतालमार्फत सुरक्षित प्रसूति, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे (USG) तथा स्वास्थ्य बीमालगायतका सेवाहरू विस्तार गरिएको जनाइएको छ।
कार्यक्रममा अध्यक्ष हुकुम सिंह राईले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता र अधिकारसँग जोडिएको विषय भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले स्वास्थ्य पूर्वाधार, आवश्यक उपकरण, दक्ष जनशक्ति र सेवाको विस्तारमार्फत नागरिकलाई आफ्नै गाउँघरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास भइरहेको उल्लेख गर्नुभयो।

उहाँले वार्षिक समीक्षा उपलब्धिको मूल्याङ्कनसँगै सेवा प्रवाहका कमजोरी र चुनौती पहिचान गरी आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण आधार बन्ने बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी, साझेदार संस्था फेयरमेड, सहारा नेपाल र एनएलएफ, भृकुटी अस्पतालका प्रतिनिधि, तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक तथा कार्यक्रम फोकल पर्सन विश्वनाथ श्रेष्ठले गर्नुभएको थियो। सहभागीहरूले स्वास्थ्य सेवा प्रवाहमा देखिएका चुनौती तथा आगामी दिनमा स्थानीय तह, स्वास्थ्य संस्था र साझेदार निकायबीचको समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
समीक्षापछि कमल गाउँपालिकाले आगामी दिनमा पनि गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य तथा प्रभावकारी स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।










