कमल गाउँपालिकामा क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा सम्पन्न

कमल, झापा । कमल गाउँपालिका र मातहतका स्वास्थ्य संस्थामा सञ्चालित क्षयरोग कार्यक्रमको योजना तर्जुमा, कोहोर्ट विश्लेषण तथा वार्षिक समीक्षा कार्यक्रम बुधबार सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएको क्षयरोग कार्यक्रमको प्रगति, उपलब्धि, उपचार नतिजा, कोहोर्ट विश्लेषण तथा कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो। साथै, आगामी आर्थिक वर्षमा क्षयरोग नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक योजना, कार्ययोजना तथा कार्यान्वयन रणनीतिबारे छलफल गरी प्रतिबद्धता जनाइएको छ।

कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहाल, स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत खुश्बु राई तथा क्षयकुष्ठ अधिकृत बिरेन्द्र दासले सहजीकरण तथा प्रशिक्षण गर्नुभएको थियो।

कार्यक्रममा कमल गाउँपालिकाअन्तर्गतका डट्स सेन्टरका क्षयकुष्ठ कार्यक्रम फोकल पर्सन तथा माइक्रोस्कोपी सेन्टरका ल्याब फोकल पर्सनहरूको सहभागिता रहेको थियो।

कमल गाउँपालिकामा हाल कमल नगर अस्पताल, लखनपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल–१, बाँसबारीमा डट्स सेन्टर तथा ई.टी.बी. कार्यक्रम सञ्चालनमा रहेको छ। त्यस्तै, कमल नगर अस्पताल, कमल–२ र लखनपुर स्वास्थ्य चौकी, कमल–६ मा माइक्रोस्कोपी सेन्टर सेवा उपलब्ध रहेको गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले जानकारी दिनुभयो।

समीक्षा कार्यक्रममा क्षयरोगको समयमै पहिचान, निदान तथा उपचारमा निरन्तरता कायम गर्ने, समुदायस्तरमा क्षयरोग खोजपड्ताललाई विस्तार गर्ने तथा नियन्त्रणका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रमले स्थानीय तह, स्वास्थ्य कार्यालय तथा स्वास्थ्य संस्थाबीचको समन्वयलाई थप मजबुत बनाउँदै क्षयरोगको पहिचान, निदान, उपचार तथा नियन्त्रणका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय