कमल, झापा। कुष्ठरोगको समयमै पहिचान, रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले कमल गाउँपालिका–७ मा कुष्ठरोग सक्रिय खोजपड्ताल तथा LPEP (Leprosy Post-Exposure Prophylaxis) कार्यक्रम सम्पन्न भएको छ।
नेपाल कुष्ठरोग सङ्गति (NLF) र फेयरमेड साहारा नेपालको समन्वय, स्वास्थ्य कार्यालय झापाको सहकार्य तथा कमल गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा आइतबार बिहान ७ बजेदेखि स्वास्थ्यकर्मी तथा सरोकारवालाको टोलीले घरदैलो अभियान सञ्चालन गरेको थियो।



अभियानका क्रममा सरस्वती टोल, सृजनशील टोल, सैनिक चोक, पाथीभरा टोल, पशुपति टोल, रंगपुर तथा बार्हघरे आसपासका क्षेत्रमा पुगेर कुष्ठरोगको सक्रिय खोजपड्ताल गरिएको थियो। घरदैलो अभियानमार्फत स्थानीयलाई कुष्ठरोगसम्बन्धी जानकारी तथा सचेतना प्रदान गर्नुका साथै सम्भावित लक्षण भएका व्यक्तिको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्शसमेत दिइएको थियो।
कार्यक्रममा नेपाल कुष्ठरोग सङ्गतिका कार्यक्रम अधिकृत डी.बी. गुरुङ, फेयरमेड साहारा नेपालकी निखिता श्रेष्ठ, स्वास्थ्य कार्यालय झापाका क्षयकुष्ठ रोग कार्यक्रम फोकल पर्सन वीरेन्द्र दास तथा जनस्वास्थ्य अधिकृत खुश्बु राईको सहभागिता रहेको थियो।
त्यस्तै, कमल गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक प्रसाद दाहाल, लखनपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक देवराज पराजुली तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–७ का सी.अ.हे.व. अधिकृत अमृत बहादुर थेगिङ लिम्बूलगायतको सक्रिय सहभागिता रहेको थियो।
दमक टाउन डटकमसँग कुरा गर्दै कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले स्वास्थ्य कार्यालय झापा तथा विभिन्न सहयोगी संस्थाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता स्वास्थ्य कार्यक्रमले समुदायस्तरमै रोगको समयमै पहिचान, रोकथाम तथा उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले स्थानीय सरकार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कुष्ठरोग प्रारम्भिक अवस्थामै पहिचान गरी समयमै उपचारमा जोड्न तथा संक्रमण रोकथामका लागि समुदायस्तरमै सञ्चालन गरिएको सक्रिय खोजपड्ताल तथा LPEP कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै, घरदैलो अभियानले कुष्ठरोगप्रति समाजमा रहेका भ्रम, डर तथा विभेद न्यूनीकरण गर्दै कुष्ठरोगमुक्त समाज निर्माणमा योगदान पुग्ने विश्वास लिइएको छ।










