काभ्रे । भुम्लु गाउँपालिकाका १ हजार ६१० परिवारले लामो समयदेखि प्रतीक्षा गर्दै आएको जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। गाउँपालिका–७ का ६१० र वडा नम्बर ८ का करिब ९०० परिवार गरी करिब ९ हजार कित्ताको जग्गाधनी पुर्जा बनाउने कार्यमा करिब ९० प्रतिशत सफलता प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल ले सबै नागरिकले जग्गाधनी पुर्जा प्राप्त गरेपछि मात्रै आफूले पनि पुर्जा लिने संकल्प गरेको बताउनुभयो। सोही संकल्पअनुसार आफूले पनि जग्गाधनी पुर्जा प्राप्त गरेको उहाँको भनाइ छ।




अध्यक्ष भुजेलले चुनावका बेला नागरिकसमक्ष गरेको प्रतिबद्धता पूरा गर्न निरन्तरको मेहनत, प्रयास र संघर्षको प्रतिफलस्वरूप यो उपलब्धि हासिल भएको बताउनुभयो। आफूले गरेको संकल्प र चुनावी बाचा पूरा भएको अवस्थामा आत्मसन्तुष्टि महसुस भएको उहाँले उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “सबै नागरिकले जग्गाधनी पुर्जा प्राप्त गरेपछि मात्र अन्तिममा आफूले पनि जग्गाधनी पुर्जा लिने संकल्प गरेको थिएँ। त्यसैले आज मैले पनि जग्गाधनी पुर्जा प्राप्त गरेको छु।”
यो उपलब्धि कुनै एक व्यक्तिको प्रयासबाट मात्र नभई समग्र नागरिकको निरन्तरको प्रयास, सहयोग र धैर्यको प्रतिफल भएको अध्यक्ष भुजेलले बताउनुभयो। जग्गाधनी पुर्जा वितरणले वर्षौँदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या झेल्दै आएका नागरिकलाई ठूलो राहत पुगेको गाउँपालिकाको भनाइ छ।










