दमक । जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भई खण्डहर बनेको दमक नगरपालिकाको प्रशासनिक भवन पुनःनिर्माण प्रक्रिया अघि बढाइएको छ।
दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाका अनुसार गत साउन २६ गते बसेको कार्यपालिका बैठकले क्षतिग्रस्त प्रशासनिक भवन पुनःनिर्माण गर्ने निर्णय गरेको हो।



नगरपालिकाले करिब १० करोड रुपैयाँ लागतमा ठेक्का प्रक्रियामार्फत नयाँ प्रशासनिक भवन निर्माण गर्ने तयारी गरेको छ। निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको नगर प्रमुख थापाले जानकारी दिए।
उनका अनुसार तत्कालका लागि भवन पुनःनिर्माणको प्रक्रिया नगरपालिकाको आन्तरिक स्रोतबाट अघि बढाइनेछ। आवश्यक प्रक्रिया पूरा गरेपछि निर्माणका लागि ठेक्का आह्वान गरिने नगरपालिकाले जनाएको छ।
तस्बिरमा देखाइएको प्रस्तावित डिजाइनअनुसार नयाँ प्रशासनिक भवन आधुनिक तथा सुविधासम्पन्न हुने जनाइएको छ। भवन निर्माणपछि नगरपालिकाका प्रशासनिक कामकाजलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










