दमक, झापा। दमक नगरपालिकाले शहरलाई व्यवस्थित, सुरक्षित, स्वच्छ तथा सुन्दर बनाउने उद्देश्यले सार्वजनिक स्थान, ट्राफिक व्यवस्थापन, बजार सञ्चालन, सरसफाइ तथा व्यवसाय नियमनसम्बन्धी विभिन्न व्यवस्था कडाइका साथ लागू गर्ने भएको छ।
नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम तथा व्यवस्थापन समितिको निर्णयअनुसार नगरवासी, व्यवसायी, सवारी चालक तथा सर्वसाधारणले पालना गर्नुपर्ने विभिन्न नियम सार्वजनिक गरिएको हो।



नगरपालिकाका अनुसार सडक तथा चोकमा बाह्रमासे, सटहाजी, क्यारमबोर्ड, तास, लङ्डोलगायतका खेल सार्वजनिक रूपमा खेली आर्थिक गतिविधि गर्न निषेध गरिएको छ। यस्ता गतिविधि सञ्चालन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ।
त्यस्तै, बजार क्षेत्रमा तोकिएको पार्किङ क्षेत्रबाहिर सवारी पार्किङ गरेमा ह्विल लक (Wheel Lock) लगायतका कारबाही गरिने नगरपालिकाले जनाएको छ। फुटपाथमा व्यापारिक वा निर्माण सामग्री राख्ने, टिनको छाना तथा प्लास्टिक प्रयोग गरी सडक तथा बजारको सौन्दर्य बिगार्ने कार्यमा समेत रोक लगाइएको छ।
सार्वजनिक सडक तथा पेटीमा घरपालुवा पशुबाट दिसापिसाब गराउने कार्य पनि निषेध गरिएको छ। सडक, पेटी तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने कार्य रोक्न व्यवसायी तथा घरधनीलाई फोहोर व्यवस्थापनमा जिम्मेवार बनाइने नगरपालिकाले जनाएको छ।
मन्दिर, विद्यालय, स्वास्थ्य संस्था लगायत सार्वजनिक तथा संवेदनशील क्षेत्रमा धूम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन र बिक्री–वितरणमा समेत कडाइ गरिने भएको छ। विद्यालय, स्वास्थ्य संस्था तथा धार्मिक स्थलको १०० मिटर क्षेत्रलाई संवेदनशील क्षेत्रका रूपमा निगरानी गरिने जनाइएको छ।
मालवाहक सवारीलाई समय निर्धारण
दमक बजार क्षेत्रमा मालवाहक सवारीबाट सामान लोड तथा अनलोड गर्न बिहान ९ बजेसम्म र बेलुका ५ बजेपछि मात्र अनुमति दिइएको छ। बजार क्षेत्रमा प्रवेश गर्दा तोकिएको ड्राइभिङ रोड प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
बिना हेल्मेट मोटरसाइकल चलाउने, मोटरसाइकलमा तीन जना सवार हुने तथा अत्यधिक ध्वनि प्रदूषण गर्ने सवारीसाधनमाथि पनि कारबाही गरिने नगरपालिकाले जनाएको छ।
व्यवसाय सञ्चालनमा नयाँ व्यवस्था
माछा–मासु व्यवसाय सञ्चालन गर्दा स्वच्छता कायम गर्न सिसाको काउण्टर वा सोकेस प्रयोग गर्नुपर्ने तथा हड्डी र अन्य फोहोर निश्चित स्थानमा व्यवस्थापन गर्नुपर्नेछ।
सडकपेटी अवरुद्ध हुने गरी सामान राखेर व्यापार सञ्चालन गरेमा सामान जफतसँगै जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ। नयाँ सब्जी बजारमा पनि व्यवसायीले आफूलाई तोकिएको स्टलभित्रै व्यापार गर्नुपर्नेछ। तोकिएको स्थानबाहिर व्यापार गरेको पाइएमा नगर प्रहरीले सामान जफत गर्न सक्ने जनाइएको छ।
व्यावसायिक भवन तथा महलमा अण्डरग्राउण्ड पार्किङको व्यवस्था गर्नुपर्ने र सडक तथा पेटीमा निर्माण सामग्री राख्न नपाइने नगरपालिकाले स्पष्ट पारेको छ।
त्यसैगरी, नगरपालिकाको स्वीकृतिबिना सडक, बिजुलीका पोल तथा सार्वजनिक स्थानमा विज्ञापन सामग्री राख्न निषेध गरिएको छ।
बसपार्क र सार्वजनिक यातायातमा निगरानी
बसपार्कभित्र अव्यवस्थित टिकट बुकिङ काउण्टर सञ्चालन, यात्रुवाहक सवारीको अनधिकृत रोकाइ तथा मुख्य सडकमा यात्रु चढाउने–ओराल्ने कार्यमा समेत कडाइ गरिने भएको छ।
दमक नगरपालिकाभित्र सञ्चालन हुने टेम्पो तथा सिटी सफारीले तोकिएको स्टिकर, दर्ता तथा नवीकरण पूरा गर्नुपर्नेछ। नगरपालिकाले तोकेको मापदण्डविपरीत सञ्चालन भएको पाइएमा कारबाही गरिने जनाइएको छ।
नगरपालिकाले दमकलाई “औद्योगिक, पर्यटकीय र हरित नगर—स्वच्छ, सुरक्षित र समृद्ध नगर”का रूपमा विकास गर्ने लक्ष्यअनुसार नियम कार्यान्वयन गर्न लागेको जनाएको छ।
नगरपालिकाले नियम पालना गरी सडक तथा सार्वजनिक स्थान सफा राख्न, ट्राफिक व्यवस्थापनमा सहयोग गर्न तथा व्यवसायलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न नगरवासी, व्यवसायी, सवारी चालक र सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ।











