काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ९४ जना विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ।
रोटरी क्लब अफ धुलिखेल सिखलापुरको सहयोग तथा सामाजिक अभियन्ता एवं पत्रकार यदुनाथ गौतम ‘देउपुरे’को विशेष पहलमा भदौ १ गते मण्डनदेउपुरका चार विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।



राधाकृष्ण घनश्याम आधारभूत विद्यालय, मण्डनदेउपुर–७ का २२ जना, गोल्मेश्वरी आधारभूत विद्यालयका ४० जना, बिन्धवासिनी आधारभूत विद्यालय, मण्डनदेउपुर–४ का १२ जना र देउपुर आधारभूत विद्यालय, मण्डनदेउपुर–३ का २० जना विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री प्रदान गरिएको थियो।
कार्यक्रममा रोटरी क्लब अफ धुलिखेल सिखलापुरका अध्यक्ष सञ्जय कोजुले क्लबको यो पहिलो सामाजिक कार्य भएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राजनीतिक व्यक्तित्व एवं सामाजिक अभियन्ता रञ्जिव श्रेष्ठले मण्डनदेउपुर नगरपालिकाभित्र शिक्षा, खानेपानीलगायतका क्षेत्रमा आफूले काम गरिरहेको बताए। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै शिक्षामा गरिने लगानीले समाजको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
कार्यक्रममा रोटरी क्लब अफ धुलिखेल सिखलापुरका सदस्यहरू रेखा श्रेष्ठ र जिया श्रेष्ठ, स्वयंसेवक खिल विक्रम श्रेष्ठलगायत सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
विद्यालय परिवारले विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री सहयोग गरेकोमा रोटरी क्लब अफ धुलिखेल सिखलापुरप्रति आभार व्यक्त गरेको छ। साथै, सहयोगका लागि पहल तथा समन्वय गरिदिएको भन्दै सामाजिक अभियन्ता एवं पत्रकार यदुनाथ गौतम ‘देउपुरे’प्रति पनि विशेष धन्यवाद व्यक्त गरिएको छ।
शैक्षिक सामग्री सहयोगले विद्यार्थीहरूको अध्ययनप्रतिको उत्साह बढाउनुका साथै आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई केही राहत पुग्ने विश्वास गरिएको छ।











