दमक । देशव्यापी रूपमा देखिएको एलपी ग्यासको अभावलाई मध्यनजर गर्दै दमक नगरपालिकाले ग्यासको सहज आपूर्ति तथा वितरण सुनिश्चित गर्न अनुगमन र कारबाहीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
दमक नगरपालिकाका नगरप्रमुख राम थापाको अध्यक्षतामा इलाका प्रशासन कार्यालय दमक, इलाका प्रहरी कार्यालय दमक, दमक उद्योग वाणिज्य संघ, जिल्ला मानव अधिकारका अध्यक्ष, ग्यास व्यवसायी संघ दमकका अध्यक्षलगायत सरोकारवाला निकाय र पत्रकारहरूको सहभागितामा भएको छलफलले ग्यास अभाव समाधानका लागि विभिन्न निर्णय गरेको हो।



छलफलबाट ग्यास व्यवसायीहरूले आफूले प्राप्त गरेको ग्यास सिलिन्डर उपभोक्तालाई सहज रूपमा वितरण गर्नुपर्ने निर्णय गरिएको छ। नगरपालिकाले सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी ग्यासको वितरण अवस्थाको नियमित अनुगमन गर्ने जनाएको छ। अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना गरेको, कालोबजारी गरेको वा उपभोक्तालाई ग्यास बिक्री–वितरणमा समस्या सिर्जना गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ।
त्यस्तै, नगरवासीलाई पनि आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न र आवश्यकता अनुसार मात्र प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ। अनावश्यक रूपमा ग्यास सञ्चित गर्दा बजारमा थप अभाव सिर्जना हुन सक्ने भएकाले उपभोक्ताले संयमित भएर ग्यास प्रयोग गर्न आग्रह गरिएको हो।
बैठकले ग्यास उत्पादक कम्पनीहरूलाई यस क्षेत्रमा रहेका अधिकृत डिलरहरूलाई नियमित रूपमा ग्यास सिलिन्डर उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत गरेको छ। पर्याप्त मात्रामा ग्यास उपलब्ध भएमा बजारमा देखिएको अभाव कम हुने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने अपेक्षा गरिएको छ।
यसैगरी, ग्यास उत्पादक कम्पनीले आफ्ना अधिकृत डिलरबाहेक अन्य व्यक्तिलाई अनधिकृत रूपमा ग्यास उपलब्ध गराएको पाइएमा सम्बन्धित कम्पनीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको छ।
नगरपालिकाले बजारमा ग्यासको वास्तविक अवस्था आपूर्ति तथा वितरण प्रणालीमाथि निगरानी बढाउँदै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने जनाएको छ। साथै, ग्यास व्यवसायी, उत्पादक कम्पनी र उपभोक्ताबीच समन्वय कायम गरी अभावको समस्या समाधान गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।











