दमक — कमल नगर अस्पतालले आगामी श्रावण २५ गते सोमबारदेखि हप्ताको दुई दिन नियमित रूपमा भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा सञ्चालन गर्ने भएको छ।
कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।



स्थानीय नागरिकलाई सामान्य स्वास्थ्य परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्दै गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा आफ्नै पालिकाभित्र उपलब्ध गराउने उद्देश्यले अस्पतालले सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
अस्पतालका अनुसार भिडियो एक्स–रे सेवा सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिला, महिला स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामी तथा चिकित्सकको सिफारिसमा भिडियो एक्स–रे आवश्यक पर्ने अन्य सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष राईले कमल नगर अस्पताललाई आधुनिक, व्यवस्थित, प्रविधिमैत्री तथा नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यअनुसार सेवा र पूर्वाधार विस्तारलाई निरन्तर प्राथमिकता दिइएको बताए।
यसअघि नै अस्पतालले मानसिक स्वास्थ्य विशेषज्ञ सेवा, दन्त सेवा तथा आँखा सेवा सञ्चालन गरिसकेको छ। भिडियो एक्स–रे सेवा थपिएसँगै अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाको दायरा अझ फराकिलो हुने विश्वास गरिएको छ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दाहाल, अस्पताल प्रमुख तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
अस्पतालले श्रावण २५ गतेदेखि हप्तामा दुई दिन नियमित रूपमा भिडियो एक्स–रे सेवा उपलब्ध गराउने जनाएको छ। यसबाट स्थानीय नागरिकले समय र खर्च दुवै बचत गर्दै आफ्नै पालिकाभित्र आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।








