दमक । नेपालमा महिलाको जनसंख्या कुल जनसंख्याको ५१.१३ प्रतिशत रहेको छ भने दमक नगरपालिकामा यो अनुपात ५२.६१ प्रतिशत पुगेको छ। यही तथ्यलाई केन्द्रमा राख्दै महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दमक–५ स्थित थ्री इन वान होटलमा महिला स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
रोटरी क्लब अफ दमक, र टोस्टमास्टर्स क्लब अफ दमकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं प्रमुख अतिथि रहनुभएको थियो।



कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ दमकका अध्यक्ष सागर श्रेष्ठले गर्नुभएको थियो भने वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सीता राईले प्रमुख सहजकर्ताको भूमिका निर्वाह गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. राईले महिलाको स्वास्थ्य परिवार र समाजको समग्र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बताउँदै गर्भधारण अघि तथा प्रसूति पश्चात् अपनाउनुपर्ने स्वास्थ्य सावधानी, सन्तुलित पोषण, नियमित स्वास्थ्य परीक्षण, ४० वर्षपछि महिलामा देखिने विभिन्न स्वास्थ्य समस्या, रजोनिवृत्तिपछिका शारीरिक तथा मानसिक परिवर्तन तथा त्यसको व्यवस्थापनबारे विस्तृत जानकारी दिनुभयो। उहाँले समयमै स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यप्रति बेवास्ता नगर्न महिलाहरूलाई आग्रह गर्नुभयो।
प्रमुख अतिथि उपप्रमुख प्रसाईंले महिलाको स्वास्थ्यमा गरिएको लगानीले स्वस्थ परिवार, सक्षम समुदाय र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै स्थानीय तहले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर प्राथमिकता दिने बताउनुभयो।
कार्यक्रममा रोटरीयन जस्मिन कारञ्जितले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन क्लबका सचिव देवेन्द्र बरालले गर्नुभएको थियो। कार्यक्रममा रोटरी क्लब अफ दमकका पूर्वअध्यक्ष सन्दीप (दिपु) चापागाईं, रोटरीयनहरू, टोस्टमास्टर्स क्लबका सदस्यहरू उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागी महिलाहरूले विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै स्वास्थ्यसम्बन्धी जिज्ञासाको समाधान पाएका थिए।
रोटरी क्लब अफ दमकका सचिव देवेन्द्र बरालका अनुसार कार्यक्रमले महिलामा स्वास्थ्य सचेतना वृद्धि गर्नुका साथै नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउने सन्देश प्रवाह गरेको छ।









