बिर्तामोड, झापा— झापाको बिर्तामोड नगरपालिका–५, पुरानो भद्रपुर रोडस्थित एक घरबाट सुरु भएको आगलागीमा तीन वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार बिहान करिब ४ः१५ बजे गणेश पोखरेलको काठको दुईतले घरबाट आगलागी सुरु भएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा आगलागी विद्युत् सर्टका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ।



आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, नेपाल प्रहरी तथा स्थानीयवासी परिचालन भएका थिए। संयुक्त प्रयासपछि बिहान ५ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगलागीबाट गणेश पोखरेलको टिनको छानो भएको काठको दुईतले घर, तारा आर्यालको एकतले घर तथा सुन्दर राजवंशीको एकतले घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।
यस्तै, भरत पोखरेलको एकतले घरमा आंशिक क्षति पुगेको छ भने सारदा राजवंशी र दीपेन्द्रकुमार वलीका दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनामा मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।








