कमल–७ मा प्रयोगशाला सेवा सुरु, निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

झापा। कमल गाउँपालिका–७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, रंगपुरमा प्रयोगशाला (ल्याब) सेवाको औपचारिक शुभारम्भ गरिएको छ। ल्याब सेवा सञ्चालनसँगै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन्।

कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले रिबन काटेर ल्याब सेवाको उद्घाटन गर्नुभएको हो। उद्घाटनपछि उहाँले प्रयोगशालामा जडान गरिएका उपकरण, सामग्री तथा रसायनहरूको निरीक्षण गर्दै सेवाको गुणस्तर र प्रभावकारिताबारे जानकारी लिनुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय प्रयोगशाला सेवा घरआँगनमै उपलब्ध गराउने उद्देश्यले ल्याब सेवा विस्तार गरिएको बताउनुभयो। उहाँले कमल–७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट टिटानसविरुद्धको खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै आवश्यकता र स्रोतका आधारमा आगामी दिनमा थप स्वास्थ्य सेवासमेत विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले गाउँपालिकाभित्र रहेका अन्य आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा पनि क्रमशः ल्याब सेवा विस्तार गर्न सके सबै वडाका नागरिकले सहज रूपमा प्रयोगशाला सेवा प्राप्त गर्ने बताउनुभयो।

कार्यक्रममा कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले ल्याब सेवा विस्तार कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै सहभागीलाई स्वागत गर्नुभएको थियो।

आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–७ का प्रमुख अमृत सुब्बाले कार्यक्रम सञ्चालन गर्दै आफू सरुवा भएर आएपछि वडा अध्यक्ष पृथ्वीपति राई तथा गाउँपालिका अध्यक्ष हुकुम सिंह राईसँग समन्वय गरी स्वास्थ्य संस्थामा नयाँ सेवा थप्ने लक्ष्यअनुसार ल्याब सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले यस सेवाबाट स्थानीय सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्दै भविष्यमा थप स्वास्थ्य सेवा विस्तार गरिने बताउनुभयो।

ल्याब असिस्टेन्ट गीता न्यौपानेका अनुसार अब स्वास्थ्य सेवा केन्द्रबाट रगत, पिसाब (युरिन), दिसा (स्टुल), रक्तचिनी (सुगर) परीक्षणका साथै गर्भवती महिलाका आवश्यक प्रयोगशाला परीक्षणहरू नियमित रूपमा सञ्चालन गरिनेछ।

ल्याब सेवा शुभारम्भसँगै आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लावतीले बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गर्नुभएको थियो। शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका स्थानीय नागरिकले सेवा लिई लाभान्वित भएका थिए।

कमल–७ का वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीपति राईले ल्याब सेवा सञ्चालनसँगै वडा नम्बर–७ का नागरिकले सहज स्वास्थ्य सेवा पाएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईप्रति आभार व्यक्त गर्नुभयो।

ल्याब सेवा सञ्चालनमा आएपछि अब कमल–७ तथा आसपासका बासिन्दाले सामान्य प्रयोगशाला परीक्षणका लागि टाढा धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। यस सेवाले समयमै रोग पहिचान, उपचार तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका पदाधिकारी, विद्यालय नर्स तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय