जलवायु परिवर्तनविरुद्ध रोटरीको अभियान : भृकुटी माविमा १०० बिरुवा रोपियो

दमक, झापा। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले रोटरी क्लब अफ दमकले दमक–१ स्थित भृकुटी माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

रोटरी क्लब अफ दमकका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा तथा कार्यक्रम संयोजक सन्जु पराजुलीको नेतृत्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद अधिकारी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव देवेन्द्र बरालले गर्नु भएको हो।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत देशभर एकैसाथ एक लाख बिरुवा रोप्ने अभियानलाई सफल बनाउन आयोजित कार्यक्रममा विद्यालय परिसरमा १०० वटा फलफूल, छायाँ तथा वातावरणमैत्री बिरुवा रोपिएको छ। रोपिएका बिरुवामा लिची, आँप, सिरिस, तेजपात लगायतका प्रजाति समावेश छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले बढ्दो जलवायु परिवर्तन, वन विनाश तथा वातावरणीय प्रदूषणका चुनौती न्यूनीकरण गर्न वृक्षारोपण प्रभावकारी उपाय भएको बताए। विद्यालय परिसरलाई हराभरा, स्वच्छ र प्राकृतिक बनाउनुका साथै विद्यार्थीमा वातावरण संरक्षणप्रति जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ थियो।

विद्यालय परिसरमा भविष्यमा विद्यार्थी तथा शिक्षकले प्राकृतिक वातावरणमा अध्ययन, विश्राम र ध्यान (मेडिटेसन) गर्न सक्ने अनुकूल वातावरण समेत निर्माण हुने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष केशवकुमार अग्रवाल, संस्थापक अध्यक्ष विरोध सुवेदी, उपाध्यक्ष सन्दीप सहेवाला, निर्वाचित अध्यक्ष भेनस श्रेष्ठ, क्लबका पदाधिकारी तथा सदस्यहरू, भृकुटी माविका प्रधानाध्यापक रत्नबहादुर धिमाल, रोटर्याक्ट क्लब अफ दमकका अध्यक्ष दिनेशजंग खड्का, सचिव अनिल पौडेल, इन्टर्याक्ट क्लब अफ जेम्सका अध्यक्ष प्रणव मण्डल, शिक्षक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रोटरी क्लब अफ दमकले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ। क्लबले आगामी दिनमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय