संघीय सरकारबाट ३ करोड बजेट, मंगलबारे बजार व्यवस्थित बन्ने: हुकुम सिंह राई

दमक । झापाको, कमल गाउँपालिका–स्थित मंगलबारे बजारको पूर्वाधार सुधारका लागि संघीय सरकारले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटबाट बजार क्षेत्रको स्तरोन्नति, आवश्यक भौतिक पूर्वाधार निर्माण तथा कृषि उपजको व्यवस्थित बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले मंगलबारे बजार कमल गाउँपालिकाको प्रमुख कृषि बजार भएकाले यसलाई आधुनिक र व्यवस्थित बनाउन बजेट महत्वपूर्ण हुने बताए।

उनले यसबाट स्थानीय किसानले उत्पादन गरेको कृषि उपज बिक्री–वितरणमा सहजता आउने, व्यापारीलाई व्यवसाय सञ्चालन गर्न थप सुविधा पुग्ने तथा स्थानीय अर्थतन्त्र चलायमान बन्ने विश्वास व्यक्त गरे।

अध्यक्ष राईले भने, “संघीय सरकारले विनियोजन गरेको यो बजेटले मंगलबारे बजारलाई व्यवस्थित र आधुनिक बनाउन ठूलो टेवा पुग्नेछ। यसबाट किसानले आफ्ना उत्पादनको उचित बजार पाउनेछन् भने व्यापारीलाई पनि व्यवसाय सञ्चालनमा सहज हुनेछ। दीर्घकालीन रूपमा यसले स्थानीय आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।”

गाउँपालिकाले विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरी मंगलबारे बजारलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय