गौरादह–६ को सडक जीर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

झापा । झापाको गौरादह नगरपालिका–६ मा रहेका केही मुख्य सडक हरु वर्षायामसँगै अत्यन्त जीर्ण बनेपछि स्थानीय बासिन्दाले तत्काल मर्मत गर्न सम्बन्धित निकायसँग माग गरेकाछन्।

स्थानीयका अनुसार सडकमा ठूला–ठूला खाल्डाखुल्डी र हिलोका कारण पैदल यात्रा तथा सवारीसाधन सञ्चालन जोखिमपूर्ण बनेको छ।

विशेष गरि उक्त वडाको जनज्योति माध्यमिक बिद्यालय पश्चिमको सडक र कार्की चोक देखि हुलाकी राजमार्ग जोड्ने सडकको अवस्था अत्यन्तै नाजुक हुँदा आवतजावतमा समस्या भएको स्थानियले जनाए ।

सामान्य वर्षा हुँदा समेत मोटरसाइकल, अटो रिक्सा र अन्य सवारीसाधन सडकमै फस्ने गरेको उनीहरूको गुनासो छ।

सडकको दुरवस्थाले दैनिक जनजीवन प्रत्यक्ष प्रभावित भएको स्थानीय बताउँछन्। बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न, किसानलाई कृषि उपज ढुवानी गर्न तथा व्यापारीलाई व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ। वर्षौंदेखि सडक स्तरोन्नतिको माग गरिए पनि अपेक्षित रूपमा काम अघि नबढेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

स्थानीयले आफूहरू नियमित रूपमा कर तिरे पनि आधारभूत पूर्वाधारको सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने बताएका छन्। उनीहरूले गौरादह नगरपालिकाका प्रमुख तथा वडा नं. ६ का वडाध्यक्षलाई तत्काल सडक मर्मत कार्य सुरु गरी सर्वसाधारणको सहज आवतजावत सुनिश्चित गर्न आग्रह गरेका छन्।

यसैबीच, सडकको अवस्था सार्वजनिक गर्दै स्थानीयले सामाजिक सञ्जालमार्फत पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। वर्षायाममा दुर्घटनाको जोखिम बढ्दै गएको उल्लेख गर्दै उनीहरूले ढिलाइ नगरी सडक मर्मत तथा दीर्घकालीन स्तरोन्नतिको काम अघि बढाउन माग गरेका छन्।

स्थानीयका अनुसार समयमै मर्मत नगरिए आवतजावत अझ कष्टकर बन्नुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय