जलवायु न्यायका लागि गौरादहमा युवालाई सशक्त बनाउने कार्यशाला सम्पन्न

झापा । जलवायु परिवर्तनका बढ्दो चुनौतीबीच युवालाई जलवायु न्यायका पक्षमा सचेत, सक्षम र सक्रिय बनाउने उद्देश्यले “जलवायु न्यायका लागि युवालाई सशक्त बनाऔँः सचेतनादेखि कार्यान्वयनसम्म” विषयक एकदिने कार्यशाला झापाको गौरादह स्थित गौरादह कृषि क्याम्पसमा सम्पन्न भएको छ।

वाईसीएसए (YCSA) झापाको आयोजना तथा दिगो विकास इन्स्टिच्युट, क्लाइमेट जस्टिस एलुम्नाइ इनिसिएटिभ (CJAI Alumni 2026), नेपाल युथ काउन्सिल फर एक्शन (NYCA) झापा, आईएएएस एलसी गौरादह, लियो क्लब अफ गौरादह र गौरादह जेसिजको सहकार्यमा आयोजित कार्यशालाले जलवायु परिवर्तन र त्यससँग जोडिएका समसामयिक विषयमा युवामाझ गहन छलफल र सिकाइको अवसर प्रदान गरेको थियो।

कार्यक्रममा जलवायु परिवर्तन, जलवायु न्याय, जलवायु वित्त, दिगो विकासका उपाय तथा कृषि क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावबारे विशेषज्ञहरूले विस्तृत प्रस्तुति दिएका थिए।

कार्यक्रममा अस्मिता अर्यालले ‘जलवायु परिवर्तन, जलवायु न्याय र जलवायु वित्त’ विषयमा, तेजबहादुर भट्टराईले ‘साँचो समाधान र भ्रमपूर्ण समाधान’ विषयमा तथा सह–प्राध्यापक जानुका दाहालले ‘कृषि, जलवायु परिवर्तन र जलवायु न्याय’ विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए।

दीपा धितालको सहजीकरणमा आयोजित अन्तरक्रियात्मक प्यानल छलफलमा सह–प्राध्यापक सुरजकुमार सिंह, गौरादह नगरपालिका वडा न २ का वडा सदस्य शंकर कट्टेल, दिक्षा कार्की र धुर्व अधिकारी सहभागी भएका थिए। छलफलका क्रममा वडा सदस्य कट्टेलले गौरादह क्षेत्रमा जताततै छरिएर रहेको प्लास्टिक तथा प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन हुन नसक्दा वातावरणीय समस्या बढ्दै गएको बताए। उनले व्यवस्थित फोहोर डम्पिङ साइटको अभाव गौरादहको अर्को प्रमुख चुनौती रहेको उल्लेख गर्दै स्थानीय तह, सरोकारवाला निकाय र समुदायले संयुक्त रूपमा दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए।

छलफलमा जलवायु न्याय स्थापना, समुदायको उत्थानशीलता (Community Resilience) अभिवृद्धि तथा युवाको नेतृत्वमा सञ्चालन हुने जलवायुमैत्री अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन विचार–विमर्श गरिएको थियो।

कार्यक्रममा सहभागी युवाले जलवायु परिवर्तनका चुनौती, त्यसका सामाजिक तथा आर्थिक प्रभाव र स्थानीय तहबाटै सुरु गर्न सकिने समाधानका उपायबारे जिज्ञासा राख्दै अनुभव आदान–प्रदान गरेका थिए। यसले जलवायु न्यायको अवधारणालाई व्यवहारमा उतार्न युवाको भूमिका थप सशक्त बनाउन सहयोग पुगेको आयोजकको विश्वास छ।

कार्यक्रमको समापनमा वाईसीएसए झापा ले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने स्रोतव्यक्ति, प्यानलिस्ट, सहकार्य संस्था, स्वयंसेवक तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको छ। साथै, युवाको नेतृत्वमा जलवायु न्यायको अभियानलाई थप सशक्त बनाउँदै दिगो, उत्थानशील र वातावरणमैत्री समाज निर्माणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय