झापा । कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्मानजनक विदाइ तथा नवनियुक्त स्वयंसेविकाहरूको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लामो समयसम्म समुदायको स्वास्थ्य प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन तथा जनस्वास्थ्यका क्षेत्रमा योगदान पुर्याउँदै अनिवार्य अवकाश प्राप्त गर्नुभएका राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कमला कार्की र बिमला भट्टराईलाई सम्मानसहित विदाइ गरिएको हो ।



उहाँहरूलाई सम्मानपत्र, मायाको चिनो तथा जनही नगद रु. एक लाखसहित सम्मान गरिएको थियो । कार्यक्रममा उहाँहरूको निस्वार्थ, समर्पित र अनुकरणीय सेवाको प्रशंसा गर्दै आगामी जीवन सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरिएको थियो ।
विदाइ मन्तव्य राख्दै स्वयंसेविका बिमला भट्टराईले ३३ वर्षे सेवाकालमा विभिन्न चुनौतीका बाबजुद समुदायको स्वास्थ्य सेवामा निरन्तर खटिन पाएकोमा गर्व र आत्मसन्तुष्टि मिलेको बताउनुभयो । कर्मप्रतिको सन्तुष्टिले जीवनलाई थप शान्त र सुखद बनाएको उहाँको भनाइ थियो ।
कार्यक्रममा नवनियुक्त राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका हेममाया विष्ट (कमल–४) र सविता पोखरेल (कमल–६) लाई खादा तथा पुष्पगुच्छासहित स्वागत गरिएको थियो ।
स्वागतपछि बोल्दै हेममाया विष्टले समुदायको स्वास्थ्य सुधारका लागि जिम्मेवार र समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य सेवाको मेरुदण्ड रहेको बताउनुभयो ।
उहाँले लामो समयसम्म सेवा गर्ने स्वयंसेविकाहरूको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै नवनियुक्त स्वयंसेविकाहरूले पनि इमानदारी, सेवाभाव र समर्पणका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।








