मोरङ। मोरङको पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९१ करोड ३९ लाख ३६ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
बुधबार सम्पन्न नगरपालिकाको १९औँ नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम र बजेटबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।



नगरपालिकाका प्रवक्ता नवीनजंग कार्कीले वार्षिक नीति तथा कार्यक्रमबारे जानकारी दिँदै नगरसभाले नगर शिक्षा ऐन संशोधन गर्दै एउटै विद्यालयमा पाँच वर्ष पूरा गरेका शिक्षकलाई एकमुष्ट सरुवा गर्ने प्रस्तावसमेत पारित गरेको बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै पथरी फुटबल गोल्डकपका लागि १० लाख रुपैयाँ तथा समग्र खेलकुद क्षेत्रका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पत्रकार सम्मेलनमा वडा नं. १ का अध्यक्ष भीमकुमार राई, वडा नं. ७ का अध्यक्ष उद्धव बस्नेत, वडा नं. १० का अध्यक्ष जीवन खतिवडा तथा नगरका सूचना सम्पादक सन्तोष राईलगायतको उपस्थिति रहेको थियो ।








