बनेपा। काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधानअनुसार जिल्लाका सबै पालिकाले आ–आफ्नो गाउँ तथा नगरसभामार्फत बजेट प्रस्तुत गरेका हुन्।
यस वर्ष पनि काभ्रेका स्थानीय तहबीच बजेटको आकारमा ठूलो अन्तर देखिएको छ। बजेटको आकारका आधारमा पनौती नगरपालिका जिल्लाकै अगाडि रहेको छ भने खानीखोला गाउँपालिकाले सबैभन्दा सानो बजेट सार्वजनिक गरेको छ।



पनौती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। यस्तै, मण्डनदेउपुर नगरपालिकाले १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ, धुलिखेल नगरपालिकाले १ अर्ब २३ करोड २६ लाख ५४ हजार रुपैयाँ र बनेपा नगरपालिकाले १ अर्ब २१ करोड ३ लाख ४६ हजार ३८५ रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
नगरपालिकातर्फ पाँचखालले ९६ करोड ६१ लाख ९० हजार रुपैयाँ र नमोबुद्धले ९१ करोड ३६ लाख ४३ हजार ९१८ रुपैयाँको बजेट ल्याएका छन्।
गाउँपालिकातर्फ रोशी गाउँपालिकाले सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ। रोशीले ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
त्यस्तै महाभारतले ६६ करोड ८९ लाख रुपैयाँ, बेथानचोकले ६४ करोड ३५ लाख ६९ हजार रुपैयाँ, भुम्लुले ६१ करोड २९ लाख १६ हजार ५९८ रुपैयाँ, चौँरीदेउरालीले ५६ करोड ७३ लाख ८२ हजार १८० रुपैयाँ र तेमालले ५३ करोड २७ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएका छन्।
जिल्लाको सबैभन्दा कम बजेट खानीखोला गाउँपालिकाले प्रस्तुत गरेको छ। खानीखोलाको आगामी आर्थिक वर्षको बजेट ५० करोड ५ लाख ५५ हजार रुपैयाँ रहेको छ।
स्थानीय तहहरूले सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको छ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, आन्तरिक आम्दानी र स्थानीय आवश्यकता अनुसार पालिकाहरूले विकासका योजना अघि सारेका छन्।








