गौरादह नगरपालिकाको १ अर्ब ९ करोडको बजेट सार्वजनिक, वडालाई ५७ देखि ७० लाखसम्म विनियोजन

गौरादह । गौरादह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल १ अर्ब ९ करोड ४८ लाख ९१ हजार २ सय ३२ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको अठारौं नगरसभाको तेस्रो बैठकमा उपप्रमुख जलवर्षा राजवंशी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत बजेटअनुसार कार्यक्रम खर्चतर्फ ५३ करोड ७४ लाख ९८ हजार ८ सय रुपैयाँ, पुँजीगत खर्चतर्फ ४० करोड ५७ लाख ९५ हजार रुपैयाँ तथा कार्यालय सञ्चालन एवं प्रशासनिक खर्चतर्फ १५ करोड १५ लाख ९७ हजार ४ सय ३२ रुपैयाँ विनियोजन गरिएको छ।

उपप्रमुख चौधरीद्वारा प्रस्तुत बजेटमा खर्च व्यहोर्ने स्रोततर्फ नगरपालिकाको आन्तरिक आयबाट ६ करोड रुपैयाँ, नगर अस्पतालको बीमाबाट प्राप्त हुन बाँकी १३ करोड ९५ लाख रुपैयाँ, बीमा भुक्तानीबाट ७ करोड ५० लाख रुपैयाँ तथा अन्य आन्तरिक स्रोतबाट १ करोड रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ।

त्यसैगरी, संघीय सरकारको अनुदान ३२ करोड २१ लाख रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदान १५ करोड ६४ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट १३ करोड ११ लाख २३ हजार रुपैयाँ, संघीय विशेष अनुदान २ करोड ९३ लाख रुपैयाँ, प्रदेश सरकारको समानीकरण अनुदान १ करोड ४५ लाख ९४ हजार रुपैयाँ, प्रदेश सरकारको सशर्त चालु अनुदान १ करोड १७ लाख २३ हजार रुपैयाँ, रजिष्ट्रेसन शुल्क बाँडफाँटबाट ४ करोड रुपैयाँ तथा गत आर्थिक वर्षको सञ्चित कोषमा बचत हुन जाने ४ करोड ७७ लाख ३१ हजार ५ सय ७५ रुपैयाँसहित विभिन्न शीर्षकबाट नगरको आगामी बजेट तथा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ५७ लाखदेखि ७० लाख रुपैयाँसम्म बजेट विनियोजन गरेको छ।

जसअनुसार वडा नम्बर १ लाई ७० लाख १४ हजार १ सय ३५ रुपैयाँ, वडा नम्बर २ लाई ५७ लाख ९० हजार ३ सय ७४ रुपैयाँ, वडा नम्बर ३ लाई ५८ लाख ४१ हजार ४ सय ४३ रुपैयाँ, वडा नम्बर ४ लाई ६५ लाख ४० हजार ९ सय १३ रुपैयाँ, वडा नम्बर ५ लाई ६९ लाख ८८ हजार ३ सय ६५ रुपैयाँ, वडा नम्बर ६ लाई ६७ लाख ६४ हजार ९ सय ४१ रुपैयाँ, वडा नम्बर ७ लाई ६५ लाख १३ हजार ४० रुपैयाँ, वडा नम्बर ८ लाई ६० लाख ४६ हजार ५१ रुपैयाँ तथा वडा नम्बर ९ लाई ७० लाख ७ सय ४० रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन मार्फत विकास निर्माण, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अधि बढने मार्ग तय गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय