चौरीदेउरालीको प्राथमिकता पूर्वाधार विकासमा, प्रशासनिक भवन र १५ शय्याको अस्पताल आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा व्यवस्थित प्रशासनिक भवन निर्माणदेखि स्वास्थ्य, सडक, सञ्चार र विद्युतीकरण क्षेत्रको सुधारलाई विशेष जोड दिइएको छ।

गाउँपालिकामा व्यवस्थित प्रशासनिक भवन नहुँदा सेवाग्राहीले भोग्दै आएको समस्या समाधान गर्न निर्माणाधीन प्रशासनिक भवनको कामलाई तीव्र गतिमा अघि बढाई आगामी वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै, स्वास्थ्य सेवाको विस्तारका लागि निर्माण भइरहेको १५ शय्याको अस्पताल भवनलाई पनि आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने नीति लिइएको छ।

सडक स्तरोन्नतिमा जोड

गाउँपालिकाले नयाँ सडक विस्तारभन्दा निर्माण भइसकेका सडकहरूको स्तरोन्नति र नियमित मर्मतसम्भारलाई प्राथमिकता दिने भएको छ। स्थानीय सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन खाल्डाखुल्डी पुर्ने, मर्मत गर्ने तथा यातायात सहज बनाउने योजना अघि सारिएको छ।

प्राकृतिक विपत्ति वा अन्य कारणले सडक अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउन ‘आकस्मिक मर्मत तथा व्यवस्थापन कोष’ स्थापना गरिने भएको छ।

आगामी आर्थिक वर्षमा गाउँपालिका स्तरीय मुख्य सडक आयोजनाअन्तर्गत गोठपानी–विर्ता देउराली सडक, गुम्बाटी–बाङथली सडक र देउराली–ज्यामिरे बोक्से सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिने जनाइएको छ।

उपभोक्ता समितिको १० प्रतिशत सहभागिता निरन्तर

पूर्वाधार निर्माणमा स्थानीय अपनत्व बढाउन उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामा १० प्रतिशत लागत सहभागिताको व्यवस्थालाई निरन्तरता दिइएको छ। सार्वजनिक–निजी साझेदारीमार्फत निर्माण सम्पन्न हुन बाँकी वडा कार्यालय भवनहरू पनि आगामी वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।

सञ्चार र विद्युत् सेवामा सुधार

गाउँपालिकाले गुणस्तरीय सञ्चार सेवा विस्तारका लागि नेपाल टेलिकम तथा अन्य इन्टरनेट सेवा प्रदायक संस्थासँग सहकार्य गर्ने नीति लिएको छ। सञ्चार सेवा नपुगेका क्षेत्रमा नयाँ टावर स्थापनाका लागि पहल गरिने बताइएको छ।

यसैगरी, गाउँपालिका क्षेत्रका सामुदायिक विद्युत् लाइनहरूको सुधार र व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ।

संघ र प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै ठूला तथा बाँकी पूर्वाधार आयोजनालाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय