गौरादह–सोलमारी सडक मर्मतको माग गर्दै नागरिकको अल्टिमेटम, ‘दुई दिनभित्र काम सुरु नभए आफैं सडक बनाउँछौं’

गौरादह। झापाको गौरादह बजार पूर्वदेखि सोलमारीसम्म जोड्ने सडक लामो समयदेखि जीर्ण बन्दै गएपछि स्थानीयवासी तथा सचेत नागरिकहरूले सम्बन्धित निकायलाई दुई दिनभित्र मर्मत कार्य सुरु गर्न आग्रह गरेका छन्।

स्थानीयवासीका अनुसार उक्त सडकको मर्मत तथा स्तरोन्नतिका लागि गौरादह नगरपालिका र सम्बन्धित वडा कार्यालयमा पटक–पटक ध्यानाकर्षण गराइए पनि हालसम्म अपेक्षित पहल हुन सकेको छैन। बेला–बेलामा गिटी थुपार्ने काम भए पनि दिगो समाधानका लागि प्रभावकारी कदम नचालिएको उनीहरूको गुनासो छ।

जीर्ण सडकका कारण दैनिक आवतजावतमा समस्या हुनुका साथै वर्षायाममा हिलो र खाल्डाखुल्डीले सवारी सञ्चालन तथा पैदलयात्रीलाई समेत सास्ती खेप्नुपरेको स्थानीयहरूको भनाइ छ।

यस अवस्थाप्रति चिन्ता व्यक्त गर्दै गौरादहका युवा तथा सचेत नागरिकहरूले एक सार्वजनिक अपिल जारी गर्दै आगामी दुई दिनभित्र सडक मर्मत कार्य सुरु गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। समयमै पहल नभए स्थानीय युवा तथा नागरिकहरू स्वस्फूर्त रूपमा एकजुट भई प्रति व्यक्ति एक सय रुपैयाँ संकलन गरेर सडक मर्मत कार्य आफैं अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएका छन्।

“जनताको आधारभूत आवश्यकता र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सम्बन्धित निकायले अब थप बेवास्ता गर्नु हुँदैन,” अपिलमा उल्लेख गरिएको छ।

स्थानीयहरूले सडक मर्मतको विषयलाई प्राथमिकतामा राखी तत्काल आवश्यक कदम चाल्न गौरादह नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय