मोरङ। पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वडा नं. १० मा निर्माण भइरहेको पाँचतले अत्याधुनिक प्रशासनिक भवनमा अहिले प्लास्टरिङ, पुटिङ तथा टायल्स बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ ।
भवन निर्माणको प्रगति तथा अवस्थाबारे जानकारी लिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, इन्जिनियरद्वय हसरत अली नेपाल र सन्तोष केसीसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको छ ।



अनुगमनका क्रममा भवन निर्माणको गुणस्तर, हालसम्मको प्रगति र निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने विषयमा समीक्षा गरिएको थियो । नगरपालिकाले भवन निर्माण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइरहेको जनाएको छ ।
निर्माणाधीन प्रशासनिक भवन ९ हजार २ सय ५२ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री तथा बालबालिकामैत्री सुविधासहित निर्माण भइरहेको उक्त भवन सञ्चालनमा आएपछि नगरवासीले थप सहज, प्रभावकारी र व्यवस्थित रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।








